न्यायालयको विश्वास र गरिमा गुमेकोमा अधिबक्ताहरुको चिन्ता

९ श्रावण २०७७, शुक्रबार २०:२२

काठमाण्डौं, नेकपाका नेता राम नारायण बिडारीले रञ्जन कोइरालाको मुद्दा अहिले सर्वत्र चासोको विषय बनेको बताउनु भएको छ । आज संवाद क्लव नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले न्यायालयप्रति जनविश्वास कसरी वृद्धि गर्ने ? भन्ने कुरा अहिले प्रमुख बिषय भएको बताउनु भयो । उहाँले भन्नु भयो , ‘न्यायालयलाई कसरी स्वच्छ बनाउने ? न्यायालयमा गरिने नियुक्तिहरूलाई कसरी पारदर्शी गर्ने ? त्यस विषयमा हामीले बढी छलफल र चिन्तन गर्नुपर्छ ।’

रञ्जन कोइरालाको मुद्दा अहिले सर्वत्र चासोको विषय भएको बताउदै यो नेपालमा भएका धेरै अपराधहरूमध्ये त्यो अपराध एउटा क्रुर खालको अपराध भन्ने कुरा सार्वजनिक तथ्यहरूले नै पुष्टि गरिसकेको नेता बिडारीले बताउनु भयो । जुन ढंगले गीता ढकालको हत्या भयो, त्यो हत्या सामान्य कारणले नभएको बताउनु भयो ।
सोही कार्यक्रममा बोल्दै प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन अधिबक्ताहरु राजकुमार थापा , धर्मराज खनाल , मणिराम उपाध्यायले प्रस्ताव गर्नु भएको छ ।

हत्या आरोपमा सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेको पूर्वडिआईजीको मुद्धामा विवादास्पद फैसला गर्ने सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशलाई महाअभियोग लगाउन जोडदार रुपमा उहाँहरुले माग गर्नु भएको हो । उहाँहरुले सस्शत्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालासम्बन्धी सर्वोच्चको मुद्दामा पुनरावेदन भएन भने प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउनुपर्ने धारणा राखनु भएको हो ।
अदालतप्रति पुरापुर सम्मान रहे पनि उहाँहरुले रञ्जन कोइराला प्रकरणमा सर्वोच्चले दिएको फैसलाप्रति घोर आपत्ति प्रकट गर्नु भएको छ ।

मुलुकको प्रधानन्यायाधिसकै इजलासबाट यस्तो फैसला आउनु न्यायालयको विश्वास र गरिमा गुमेको बताउनु भएको छ ।
उहाँहरुले यस प्रकरणमा सर्वोच्च अदालतले पुनरवलोकन गरेन भने महाअभियोग लगाउन पनि तयार हुनुपर्ने बताउनु भएको छ ।