लकडाउनको बिषयमा निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै

२८ जेष्ठ २०७७, बुधबार ११:०९

काठमाडौं, कोरोना भाइरसको संक्रमण फैलिन नदिन गरिएको लकडाउनको बिषयमा निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ । बैठकमा लकडाउनको मोडालिटीको बिषयमा निर्णय हुने बताइएको छ ।

आज लकडाउनको ७९औं दिन हो। गत चैत ११ गतेदेखि सुरु भएको लकडाउन पछिल्लो पटक बढाएर जेठ ३२ गतेसम्म पुर्याइएको छ। लामो लकडाउनका कारण जनजीवन कष्टकर भएपनि यसको स्वरुप फेर्ने विषयमा निर्णय हुने जनाएको छ।

लकडाउनको स्वरुप फेर्न कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) र कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिले सिफारिस गरेका छन्। असोर १ गतेदेखि लकडाउनको स्वरुप फेर्नुपर्ने दुवै समितिको निष्कर्ष छ।

सीसीएमसीले असार १ देखि लकडाउन खुकुलो बनाउनुपर्ने योजना अघि सारेको छ। जसमा आन्तरिक हवाइसेवा सुरु गर्नुपर्ने, कृषि उच्पादनसँग जोडिएका क्षेत्र तथा व्यवसायलाई सञ्चालन गर्नदिनु पर्ने उल्लेख छ।

त्यस्तै, दूरी कायम गरेर खेतीपाती गर्न लगाउनुपर्ने सुझाव छ। दैनिक उपभोगइ सामग्रीको बिक्री वितरण हुने मल, किराना पसल, खाद्य भण्डार, पानी तथा ग्यास डिपो खोल्न दिनुपर्ने पनि जनाएको छ।