
काठमाडौं, सांसद राजेन्द्र महतोले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट औपनिवेशिक योजनाको निरन्तरता भएको टिप्पणी गर्नु भएको छ । आज संसदमा बजेटमाथि छलफल गर्दै सांसद महतोले जनता आशावादी हुन नसक्ने बजेट ल्याएको भन्दै उत्साहित हुनुपर्ने अवस्था नरहेको बताउनु भयो ।
उहाँले बजेट ल्याउनेहरुले आफूलाई मालिक र जनतासँगै अरुलाई भिखारी सम्झेको आरोप लगाउनु भयो । उहाँले अहिले सरकारले ल्याएको बजेटले कोरोनाको संक्रमण बढ्यो भने धान्न नसक्ने भन्दै सरकारलाई प्रश्न गर्नु भयो । ‘अझ संक्रमण बढ्यो भने यो बजेटले धान्छ ? जनताप्रतिको दायित्व छैन ?, उहाँले भन्नु भयो । उहाँले लामो बजेट प्रस्तुत गरेर मात्रै सरकार उम्कन नपाउने पनि बताउनु भयो । महतोले अहिलेको सरकारले संघीयता सखाप पार्ने काम गरेको आरोप पनि लगाउनु भयो । उहाँले विदेशबाट फर्केका जनतालाई रोजगारी दिनेतर्फ सरकार चिन्तित नभएको पनि बताउनु भयो । उहाँले सरकारले ल्याएको नेपालको पानी जनताको लगानी नाराको पनि विरोध गर्नु भयो ।
