महामारी व्यवस्थापन र रोकथामका लागि नयाँ तरिका–प्रक्रिया अपनाउनु जरुरी

४ जेष्ठ २०७७, आईतवार १६:३६

शान्ति सिग्देल,

कोरोना कहरको यस घडीमा केही मानिसहरू रोग र भोकबाट पीडित छन । ती मानिसहरूको सेवामा लाग्नु पर्ने बेला आएको छ । अहिलेको संकटग्रस्त परिस्थितिमा सहयोगको ठूलो महत्व रहन्छ । यो मानवतासँगै जोडिएको विषय हो । यही मौकामा फाइदा लिनेहरुको जमात पनि सक्रिय छ । यो संकटको बेलामा मौकामा फाइदा लिनेहरुको मानवीयता भन्र्ने पटक्कै देखिदैन । आवश्यक परेको बेलामा अरूलाई सहयोग गर्नु मानवीय धर्म हो । कोरोनासँग लड्ने क्रममा डाक्टर तथा नर्स, पत्रकार ,सुरक्षाकर्मी र सरसफाइ कर्मचारीले आफ्नो ज्यान नै दाउमा राखी सेवामा उत्रिएका छन । उनीहरुलाई सलाम छ !
गलत कामको समाजले चासो लिएन भने राज्य कमजोर हुन सक्छ । समाजले लगाम लगाएन भने राज्यले अधिनायकवादको बाटो रोज्छ,। यदि हामी राज्यका संस्थाहरूले बाटो बिराएको देख्छौं भने नागरिक निगरानीलाई बलियो बनाइहाल्नुपर्छ । भ्रष्टाचारका सम्बन्धमा नागरिक समाज पनि त्यति चनाखो र जाँगरिलो रहेको पाइँदैन। देशमा भ्रष्टाचार र बेथिति बढ्नुको एउटा प्रमुख कारण यो पनि हो। अनि यसबाट कोरोना कोषलगायत अन्य संस्थाहरू प्रभावित हुने नै भए । यिनै कारणहरूले गर्दा कोषको प्रयोग र परिचालनमा हामी सबैले निगरानी राख्नुपर्छ।

अहिले नेपाली जनता महामारीको बढ्दो भय, तनाव र दुःखको पीडा बोक्न नसक्ने अवस्थामा पुगेका छन । नेपालमा महामारीको जोखिम र चुनौती बढदै गएको छ । महामारी रोकथाम र व्यवस्थापन कार्यलाई सरकारले नीतिगत एवं कार्यगत प्राथमिकतामा राख्नुपर्छ। सबै पक्षहरूको सक्रिय सहभागिता गराउनु पर्छ । महामारीको समयमा पनि भ्रष्टाचार हुनु अपराध हो । भ्रष्टाचारले मुलुकमा जरा गाडेको अवस्था छ । देशमा सुशासन कायम गर्ने हो भने भ्रष्टाचारलाई पूर्णरुपमा जरो देखि नै उखेलेर फाल्नु पर्छ ।

एक महिनाअघि सरकारले अत्यावश्यक विभिन्न स्वास्थ्य सामग्री निजी व्यवसायीमार्फत चीनबाट खरिद गर्न अपनाएको खरिद प्रक्रिया त्रुटिपूर्ण देखियो। यसमा केही निहित व्यक्तिहरूको आर्थिक लाभको लागि बढी मूल्यमा सामग्री खरिदमा घोटाला भएको भनी सार्वजनिक मिडिया र जनस्तरमा व्यापक बिरोध भएको छ।तत्कालीन आवश्यकता पूरा गर्न देशमा आइसकेका महँगा र गुणस्तरविहीन सामग्री नै प्रयोग गर्न बाध्य हुनु परेको छ।
अहिलेको संकट भनेको माहामारी नै हो । जनता ढुक्कले बस्न सकिरहेको अवस्था देखिँदैन। यो महामारी व्यवस्थापन र रोकथामका लागि नयाँ तरिका–प्रक्रिया अपनाउनु जरुरी छ । अहिले नेपाली जनता महामारीको चपेटामा र सरकारद्वारा नै घोषित लकडाउनमा रहेकाले पीडित छन । राजनीतिक दल र तिनका नेताहरु भने आफ्नो सत्ता जोगाउन लुछाचुँडी गर्न सुरु गरिसकेका छन्। नेताहरूको यस किसिमको व्यवहारले महामारी व्यवस्थापन गर्ने कार्य ओझेलमा पर्ने होकी भनेर जनता चिन्तित छन । अहिले राजनीतिक दल र तिनका नेताहरू सत्ता स्वार्थको खिचातानीमा नलागी देश र जनताका लागी काम देखाउने बेला र अवसर हो । आफ्ना कमीकमजोरी र गल्ती सच्याई छवि सपार्ने ठूलो मौका पनि हो ।