
नेपालगंज , बाँकेको नरैनापुर गाउँपालिकास्थि क्वारेन्टाइनमा बसेका एक युवकको आइतबार मृत्यु भएको छ । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा रहेका २५ वर्षीय युवकको बिहान क्वारेन्टाइनमै मृत्यु भएको गाउँपालिका नरैनापुरका स्वास्थ्य शाखा संयोजक मोइन खानले बताउनु भयो ।
उहाँका अनुसार बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि एम्बुलेन्स पुग्नुअगावै युवककोे मृत्युु भएको थियो । क्वारेन्टिनमा बसेका युवकको मृत्यु भएपछि नरैनापुरवासी त्रसित हुन पुगेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले रातिदेखि स्वास्थ्यमा समस्या देखिएकामा बिहान करिब ६ बजे युवकको मृत्यु भएको जानकारी दिनु भयो । कोरोना परीक्षणका लागि मृतक युवकको स्वाब शनिबार नै सङ्कलन गरिसकिएकाले आजै रिपोर्ट आउने उहाँको भनाइ छ ।
एकैदिन आठ सङ्क्रमित भेटिएको नरैनापुरमा सङ्क्रमितको सम्पर्कमा आएका २६३ जनाको शनिवार स्वाब सङ्कलन गरिएको छ । पहिलो चरणमा सङ्क्रमित आठ जनाको सम्पर्कमा आएका २८४ जनाको कोरोना परीक्षणको लागि स्वाब सङ्कलन गर्न नेपालगञ्जबाट स्वास्थ्य टोली खटिए पनि शनिबार २६३ जनाको सङकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत एवम् कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिनु भयो ।
