नेकपाले स्थायी समिति बैठक बोलाएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको छलफलपछि बुधबार बिहान ११ बजेका लागि स्थायी समितिको बैठक बोलाइएको हो ।
नेकपा महासचिव विष्णु पौडेलले बुधबार बिहान ११ बजेका लागि पार्टी कार्यालय धुम्बाराहीमा बैठक बोलाइएको रातोपाटीलाई बताए ।
यसअघि अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाउन आनाकानी गर्दै आएको भएपनि पार्टीभित्र चर्को दवाव बढेपछि ओली बैठक बोलाउन सहमत भएको बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विवादास्पद दुई अध्यादेश ल्याएपछि पार्टीभित्र स्थायी समिति बैठकको माग भएको थियो । बैठकको माग गर्दै २० स्थायी समिति सदस्यले अधयक्षद्वयलाई पत्र नै बुझाएका थिए ।
त्यसपछि वैशाख २५ गतेका लागि स्थायी समिति बैठक बोलाइएको भएपनि प्रधानमन्त्री ओलीले बखेडा झिकेपछि बैठक स्थगित भएको थियो ।
त्यसपछि पनि ओलीलाई बैठक बोलाउन थप बढ्दै गएपछि अन्ततः बुधबारका लागि बैठक बोलाइएको हो ।