भारतीय दूतावास अगाडि प्रदर्शनमा उत्रिएका राप्रपाका नेता तथा कार्यकर्ता पक्राउ

२९ बैशाख २०७७, सोमबार १६:१३

काठमाडौं , सीमा अतिक्रमण बिरुद्ध लैनचौरस्थित भारतीय दूतावास अगाडि विरोध जनाउँदै प्रदर्शनमा उत्रिएका राप्रपाका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । नेपाली भूमि लिपुलेक क्षेत्रमा भारतीय पक्षबाट अनधिकृत रुपमा सडक निर्माण र सञ्चालन गरि सीमा अतिक्रमण भएको विरोधमा राप्रपाको भातृ संगठन युवा, विद्यार्थी र महिला संगठनले सोमबार काठमाडौंमा विरोध प्रदर्शन गरेका थिए । काठमाडौंस्थित भारतीय राजदूतावास अगाडि जाने क्रममा प्रशासनले डेढ दर्जन बढीलाई नियन्त्रणमा लिएको हो ।
राप्रपाका अनुसार, प्रहरीले राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष प्रकाश रिमाल, विद्यार्थी संगठनका अध्यक्ष महेश बहादुर सिंह, महिला संगठनकी अध्यक्ष कुन्ती शाही, उपाध्यक्ष सरस्वती लामा, युवा उपाध्यक्ष कैलाश कटुवाल, मणि सिंखडा, महासचिव जगदीश राजभण्डारी, सचिव हिकमत जङ्ग कार्की, कोषाध्यक्ष गुणराज राजभण्डारी, विद्यार्थी उपाध्यक्ष शशी भण्डारी, महासचिव जनक फडेरा, उपाध्यक्ष निराजन बम, युवा सचिव सन्तोषी शाही ठकुरी, अभिषेक अधिकारी लगायत १५ भन्दा बढी युवा विद्यार्थीलाई नियन्त्रणमा लिएको छ ।