
काठमाडौं , प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवाले सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाएको आरोप लगाउनु भएको छ । बजेट अधिवेशनको पहिलो दिन शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता देउवाले यस्तो आरोप लगाउनु भएको हो ।
देउवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) संक्रमण नियन्त्रण र यसले सबैभन्दा पीडित पक्ष बनेकाको दुःख सरकारले देख्न नसकेको, स्वास्थ्य सामग्री खरिदमै भ्रष्टाचार गरेको भन्दै सरकारको आलोचना गर्नु भयो ।
देउवाले कोरोनाका कारण विदेशमा विचल्लीमा परेका नेपालीको उद्धारमा सरकारसँग योजना नदेखिएको भन्दै आपत्ति जनाउनु भयो । कोरोनाबाट पर्ने नकारात्मक पक्षको अध्ययन गरी तत्काल र दीर्घकालीन रणनीति बनाउन सरकार चुकेको उहाँको आरोप छ।
