मदिरा बिक्री खुलाउन माग

२२ बैशाख २०७७, सोमबार १८:४६

काठमाडौं , मदिरा उत्पादकहरूले निश्चित समय तोकी मदिरा बिक्री कक्ष खोल्न व्यवस्था मिलाउन सरकारलाई अनुरोध गरेका छन् । उत्पादकहरूको संघ ‘नेपाल पेय पदार्थ संघ’ले तोकिएको सुरक्षाको मापदण्डअनुसार बिक्री कक्ष खोल्ने अनुमतिका लागि आग्रह गरेका हुन् ।

संघका अनुसार लकडाउनका कारण नेपालमा दर्जनौं मदिरा उद्योग, हजारौंको संख्यामा रहेका बिक्री कक्ष बन्द छन् । संघका अनुसार मदिरा उत्पादन क्षेत्रले देशको कुल राजस्वमा १७ प्रतिशतअर्थात् एक खर्ब जतिको योगदान गर्छ । यो क्षेत्रले दुई लाखभन्दा बढीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष समेत गरी करिब आठ लाखलाई प्रदान गरिरहेको छ । संघले भनेको छ, “यो क्षेत्र बन्द हुँदा खर्बौंको लगानी एवं लाखौंको रोजगारी डुब्ने खतरा छ ।”

मदिराजन्य उद्योगको कुल कारोबारको लगभग पचास प्रतिशत कारोबार सरकारले बजेट घोषणा गर्नुभन्दा तीन महिनाभित्र हुने गरेको छ । यसको अर्थ लकडाउनले मदिरा क्षेत्रका उद्योग उच्च जोखिममा परेको संघको दाबी छ । यसो हुँदा अनौपचारिक क्षेत्रबाट करोडौं लिटर अस्वस्थकर मदिरा घरदैलोमा उत्पादन भई बिक्री–वितरण भइरहेको संघको दाबी छ ।

संघले भनेको छ, “लकडाउन खुले पनि मदिरा पसल बन्द भए अकल्पनीय नोक्सानी हुनेछ ।”

यस्तो अवस्थामा संघले निश्चित समय तोकी मदिराका बिक्री कक्ष खोल्न दिएमा सरकारको राजस्व, व्यवसायीको लगानी र रोजगारीलाई समेत केही मात्रामा भए पनि टेवा पुग्ने दाबी गरेको छ । स्रोत बाह्ररखरी