सांसद तथा कर्मचारीको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ

२६ बैशाख २०७७, शुक्रबार १४:१०

काठमाडौं , सङ्घीय संसद प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद तथा कर्मचारीको कोभिड–१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले बिहीबार परीक्षण गराएका सबै ४३४ को रिपोर्ट नेगेटिभ आएको जानकारी दिनु भयो । ती मध्ये २१२ सांसद र बाँकी संसद् सचिवालयका कर्मचारी थिए । उनीहरु सबैको संसद् भवन नयाँ बानेश्वरमा स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गरिएको थियो ।
शुक्रबारदेखि सङ्घीय संसद्को बजेट अधिवेशन शुरु हुँदैछ । कोरोनोको जोखिम हुन नदिन सांसद र कर्मचारीको अनिवार्य पिसिआर परीक्षण गरिएको थियो ।
महाशाखा निर्देशक डा पाण्डेका अनुसार बिहीबार परीक्षण नभएका सांसदको शुत्रबार पनि पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ ।