प्रचण्ड निवासमै पुग्यो लिम्पियाधुरा सहितको नेपालको नक्सा

१० जेष्ठ २०७७, शनिबार १५:००

काठमाडौं, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पदमाकुमारी अर्यालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको नेपालको अद्यावधिक नक्सा हस्तान्तरण गर्नु भएको छ ।

शनिवार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर मन्त्री अर्यालले नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा हस्तान्तरण गर्नु भएको हो ।

सो अवसरमा अध्यक्ष प्रचण्डले नक्सा तयार पार्न खट्ने मन्त्रीसहित मन्त्रालयका सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिनु भयो । मन्त्री अर्यालले आफूहरू नक्सा प्रकाशनको तयारी अवस्थामा नै रहेको र त्यसका लागि पार्टी र सरकारको निर्देशनको पखाइमा रहेको स्पष्ट पार्नु भएको थियो ।