कोरोना संक्रमितको संख्या ९९ पुग्यो, १७ जना थपिए

२४ बैशाख २०७७, बुधबार १६:४६

काठमाडौं , नेपालमा एकैपटक १७ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्। पर्साको वीरगञ्जका थप १७ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा यसबारे जानकारी दिनु भएको हो । डा देवकोटाका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट १० जना पुरुष र ७ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो। उहाँका अनुसार हालसम्म २२ जना कोरोना संक्रमित निको भएका छन्। पछिल्लो पटक विराटनगरबाट ६ जना भारतीय जमातीहरु निको भएर बुधबार डिस्चार्ज भएका छन्।