डा डिआर उपाध्याय

काठमाण्डौं , आज बैशाख ११ गते लोकतन्त्र दिवस। लकडाउनका कारण आज कुनै पनि औपचारिक कार्यक्रम आयोजना गरिएको छैन । आज तत्कालीन राजा ज्ञानेन्द्रले जनता सामु घुडा टेकेको ऐतिहासिक दिन हो । २०६२ चैत २४ देखि २०६३ वैशाख ११ सम्म निरन्तर १९ दिन सम्म जनआन्दोलन चलेको थियो । त्यहि जनआन्दोलनको बलमा राजसंस्था फालिएको हो । माघ १९ पछि तत्कालीन आन्दोलनरत सात दल र सशस्त्र जनयुद्ध गरिरहेको नेकपा माओवादीबीच २०६२ मङ्सिरमा १२ बुँदे समझदारी भएपछि जनआन्दोलनको वातावरण बनेको थियो ।

नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको आन्दोलनमा लाखौँ मानिस सडकमा उत्रिएका थिए । २०६५ जेठ १५ मा वैधानिक हिसाबबाटै राजतन्त्र अन्त्य भएको घोषणा गरियो। लोकतन्त्र बहालीपछि मात्र नागरिक दबाबमा दलहरूले राजतन्त्र फाल्ने आँट गरेका हुन । त्यो घटनालाई ‘ऐतिहासिक’ रुपमा लिनु पर्छ । आजको यो दिन ल्याउन २० जनाले जीवन बलिदान दिएका थिए, थुप्रै घाइते भएका थिए । कति त अहिले सम्म पनि घाइते अवस्थामा छन । लोकतन्त्र प्राप्ति पछि मुलुकमा विस्तृत शान्ति सम्झौता भयो । माओवादीहरू प्रतिस्पर्धात्मक राजनीतिको मूलधारमा प्रवेश गरे । राजतन्त्र अन्त्य गरी देशमा गणतन्त्र घोषणा गरियो । जननिर्वाचित संविधानसभाले संविधान बनायो । देश संघीयतामा गयो । राज्य धर्मनिरपेक्ष बन्यो । माओवादी लडाकु राष्ट्रिय सेनामा समायोजन भए । स्थानीय तहमा निर्वाचन भयो । संघ, प्रदेशमा पनि निर्वाचन भयो । व्यवस्था बदलिए पनि शासकहरूको चरित्र फेरिएको छैन । मुलुकमा लोकतन्त्र स्थापना भएको चौध वर्ष पुग्दा पनि जनताले अपेक्षा गरे बमोजिमको शासन ब्यवस्था महसुस गर्न पाएका छैनन् । शासन ब्यवस्था त बदलियो तर जनताको अवस्था भने बदलिएन । ( फेसवुकबाट)
