कुहिएको राहत सामग्री बाँडेको आरोपमा मेयर पक्राउ

९ बैशाख २०७७, मंगलवार १६:००

काठमाडौं , लकडाउनले समस्यामा परेका मजदूरलाई कुहिएको राहत खाद्यवस्तु वितरण गरेको आरोपमा बाराको कलैया उपमहानगरपालिकाका मेयर पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बारले मंगलबार मेयर राजेश रायलाई पक्राउ गरेको हो ।

मेयर रायले राहतको नाममा गुणस्तरहीन चामल, दाललगायतका उपभोग्य वस्तु वितरण गरेको उजुरी परेपछि पक्राउ गरेको बाराका एसपी कृष्ण पंगेनीले बताए । राहत वितरणमा संलग्न सातजनालाई यसअघि नै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरीका अनुसार उनलाई जिल्ला प्रहरी कार्यालय कलैयामा राखिएको छ । कलैया उपमहागरपालिकाका वडा नम्बर २२ मटिअरीया, वडा नम्बर ७ र २० मा चैत २८ गते वितरण गरिएको चामल, दाल कुहिएको भेटिएको थियो । राहत लिएकाहरुले फिर्ता गर्दै वितरण गर्नेलाई कारबाहीको माग गरेका थिए ।