पूर्व मन्त्रीद्धय गगन थापा र उपेन्द्र यादवलाई ऐनामा आफ्नो अनुहार हेर्न आग्रह

४ बैशाख २०७७, बिहीबार १५:०८

काठमाडौँ , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले पूर्व स्वास्थ्यमन्त्रीद्धय कांग्रेस नेता गगनकुमार थापा र समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई ऐनामा आफ्नो अनुहार हेर्न आग्रह गर्नु भएको छ । बुधबार माउन्टेन टेलिभिजनको कार्यक्रम आजको सन्दर्भमा पत्रकार चन्द्र बानियाँसँग कुरा गर्दै स्वास्थ्य सचिव कोइरालाले अहिलेको सरकारले केही गरेन भन्ने पूर्व मन्त्रीद्धयलाइ ऐनामा आफ्नो अनुहार हेर्न आग्रह गर्नु भएको हो ।
पत्रकार बानियाँले पूर्वमन्त्रीद्धय थापा र यादवको नामै उल्लेख गर्दै उहाँहरूले वर्तमान सरकारले हाम्रो जति पनि काम गरेन भनेर भन्दै हुनुहुन्छ नि भनेर गरेको प्रश्नको जवाफ दिनेक्रममा सचिव कोइरालाले पूर्वमन्त्रीद्धय थापा र यादवलाइ यस्तो आग्रह गर्नु भएको हो । उहाँले भन्नु भएको छ ‘विगतमा उहाँहरूले केके काम गर्नु भएको थियो भनेर पल्टाएर हेरौँ र अहिले केके काम भएको छ त्यो पनि हेरौँ ।’

सचिव कोइरालाले वर्तमान सरकारले गरेको कामको फेहरिस्त प्रस्तुत गर्दै हव अस्पताल तोकिएको ठाउँमा आइसियु र भेन्टिलेटर राखिएको बताउँदै विगतमा एउटा पनि राम्रो काम गर्ने ल्याब नभएको ठाउँमा अहिले १३ ठाउँमा विस्तार गरिएको र अझै केही स्थानमा बिस्तार गर्ने तयारी रहेको बताउनु भयो । उहाँले मन्त्री र आफूहरू बिहानदेखि बेलुकासम्म निरन्तर काम गरिरहेको बताउँदै विगत २० वर्षदेखि थुप्रिएको फोहोर सफा गर्न समय लाग्ने बताउनु भयो । यो समाचार दैनिकी डटकमले तयार पारेको हो ।