कागती खेती गर्न यो प्रबिधि अपनाउनुहोस्

२८ चैत्र २०७६, शुक्रबार १५:०७

कागतीको रसमा भिटामिन सी प्रशस्त मात्रामा पाइने हुनाले स्वास्थ्यको लागी अत्यन्तै महत्वपूर्ण फल हो। अपच एवं पेटको सबै जसो विकारहरु निष्काशन गर्न यो फल निकै उपयोगी हुन्छ ।
कागती खेतीको लागी कस्तो हावापानी चाहिन्छ ?

बर्ष भरिनै न्यानो र ओषिलो हावापानी भएको उष्ण प्रदेश देखि हिउँ र तुषारो नपर्ने उपोष्ण क्षेत्रसम्म (१०० मीटर देखि १८०० मीटर उचाई सम्म) को हावापानीमा यसको खेती गर्न सकिन्छ ।

कागतीलाई सिचाई गर्न आवश्यक हुन्छ ?

सुख्खा मौसममा कागतीको वोटलाई पानीको आवश्यकता पुरा गर्न सिंचाई पानीको आवश्यकता पर्दछ ।
कागती खेतीको लागी कस्तो माटोको आवश्यक पर्दछ ?

जमिनको सतह देखि २ मीटर गहिरो सम्म चट्टान नभएको, पानी नजम्ने प्रशस्त प्राङ्गगारिक पदार्थ भएको, माटोको पिएच ५.५–६.५ सम्म भएको दोमट माटो सवै भन्दा उपयुक्त हुन्छ।
कागतीको वोट रोपने दुरी कति राख्नु पर्ने हो ?

व्यवसायीक बगैंचा स्थापना गर्दा ३x ३ मीटरको दुरीमा विरुवा रोप्नु पर्दछ ।
कागती खेतीको लागी कस्तो जग्गाको छनौट गर्नु पर्छ ?

पानी नजम्ने, बार बन्देज लगाउन सकिने, पानीको भल नआउने, मोटरवाटोले छोएको र पानीको श्रोत भएको जग्गाको छनौट गर्नु पर्छ ।
कागतीको विरुवा रोप्न के कस्तो तैयारी गर्नु पर्छ ?

कागती सम्बन्धी विज्ञको सल्लाह लिई रेखाङ्कन गरि विरुवा रोप्नु भन्दा २–३ महिना पहिले नै २–३ घनफिटको खाल्डो खन्ने ।
खाडल कहिले खन्ने ?

बैशाख महिना भित्र ।
खाडल कहिले भर्ने ?

जेठ महिना भित्र ।
विरुवा कहिले रोप्ने ?

आषाढ महिनामा।
मलखादको प्रयोग कति गर्नु पर्छ ?

प्रति खाडल ५० ग्राम डिएपी ५० ग्राम युरिया र २५ ग्राम पोटासलाई माटोमा मिश्रण गरि खाडल पुर्नु पर्दछ ।
कागतीको कस्तो जात छनौट गर्नु पर्छ ?

ठाउँ र हावापानी अनुसार विज्ञको सल्लाह लिई कागतीको जात छनौट गर्ने ।

कागतीको विरुवा एक पटक रोपेपछि कति बर्षसम्म फल दिई रहन्छ ?

४० देखि ५० बर्ष सम्म।
कागती बगैंचामा सिंचाईको आवश्यकता कहिले पर्छ ?

माटोको चिस्यानको अवस्था हेरी सुख्खा याममा फागुन देखि जेष्ठ सम्म १०–१५ दिनको फरकमा हल्का सिंचाई गर्नु पर्छ ।
सिंचाईको लागी श्रोतमा पानी कम छ भने कसरी व्यवस्था मिलाउने ?

पानीको श्रोत कम छ भने थोपा सिंचाई प्रविधिको प्रयोग गर्न सकिन्छ ।
वोट हुर्कि सकेपछि मलखाद कतिको हाल्नु पर्छ ?

१–३ बर्षको विरुवालाई प्रति विरुवा गोवरमल २० के जी, युरिया, डिएची र पोटास क्रमशः १००, ५० र १०० ग्रामका दरले हाल्ने ।
मलखाद दिने तरिका के हो ?

विरुवाले जमिन ओगटेको वरिपरि कुलेसो बनाई मलखाद दिनुपर्छ र त्यसलाई खरपातले छोपी सिंचाई गर्नु पर्छ ।
कागती विरुवालाई काँटछाँट गर्ने विधि के हो ?

विरुवालाई काँटछाँट गर्न विज्ञको सल्लाह अनुसार गर्नु पर्दछ ।
कागतीको फल टिप्न उपयुक्त समय के हो ?

विहान ८–१० बजे र साँझ ३–६ बजेको समय फल टिप्न उपयुक्त हुन्छ ।
कागतीमा लाग्ने मुख्य मुख्य किराहरु कुन कुन हुन ?

कागतीमा लाग्ने मुख्य मुख्य किराहरु हरियो ठुलो पुतली, पातको झिंगा, कतले किरा, लाही किरा, सिट्रस सिल्ला, फल कुहाउने औंसा र मिली बग हुन
कागतीमा लाग्ने किरा ठुलो पुतली र पातको झिंगालाई कसरी नियन्त्रण गर्ने ?

कागतीमा लाग्ने किरा ठुलो पुतली र पातको झिंगालाई नियन्त्रण गर्न डेल्ट्रामेथ्रिन २८ प्रतिशत इसि २ मि।लि। प्रति लिटर पानीमा मिसाई छर्ने
कागतीको कतले किरा कसरी नियन्त्रण गर्ने ?

कागतीको कतले किरा नियन्त्रण गर्न किरा लागेका बोटहरु नसार्ने, फागुन र चैत्र महीनामा एक एक पटक रोगर ३० प्रतिशत इसि १ मि।लि। प्रति लिटर पानीमा मिसाई छर्ने, मटीतेल र साबुनको झोल बनाई छर्ने र एट्सो १० मि।लि। प्रति लिटर पानीमा मिसाई छर्ने ।
कागतीको लाही र सिट्रस सिल्ला किरा कसरी नियन्त्रण गर्ने ?

कागतीको लाही र सिट्रस सिल्ला किरा नियन्त्रण गर्न फुल फल्नु अगाडी रोगर ३० प्रतिशत इसि १ मि।लि। प्रति लिटर पानीमा मिसाई छर्ने
कागतीको मिलिबग किरा कसरी नियन्त्रण गर्ने ?

कागतीको मिलिबग किरा नियन्त्रण गर्न इमिडाकोलपिट ०.२ मि।लि। प्रति लिटर पानीमा झोल बनाई छर्ने
कागतीमा लाग्ने रोगहरु कुन कुन हुन ?

कागतीमा लाग्ने रोगहरु क्याइंकर, कालो ध्वासे, कोत्रे, जडा कुहीने, फेद कुहीने, गुलाबी रोग ग्रिनिगं मुख्य हुन
कागतीमा लाग्ने रोगहरु नियन्त्रणका उपाय के हो ?

कागतीमा लाग्ने रोगहरु नियन्त्रणका मुख्य उपायहरु बगैचा सफा राख्ने, हिउदमा बोटका सुकेका हांगाबिंगाहरुको कांटछांट गरि हटाउने, कपरअक्साईड ३ ग्राम प्रति लिटर पानीमा झोल बनाई कांटछांट पछी छर्ने र फेद वरिपरी सफा पारी १ देखि १.५ हातसम्म बोडो पेष्टले लिपी दिने