
बिष्णु प्रसाद शर्मा,
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार राष्ट्रका नाममा दिएको सम्बोधनले खासै जनतामा आशा पलाउन सकेन। राष्ट्रिय संकट पार लगाउने योजना खै ? प्रधानमन्त्रीको संबोधनमा जे कुरा आएका छन् ती धेरै जसो यसअघि सार्वजनिक भइसकेकै कुरा हुन्। यति बेला देशभित्रका सबै उद्योगधन्दा बन्द छन्। रोजगारीको अवसर छैन । आम जनता बिहान बेलुकाको गुजारा चलाउन नसक्ने अवस्थामा छन । दैनिक कमाएर खानेहरूका बारेमा सरकारले संबोधन गर्न खोजे पनि पर्याप्त छैन। अहिलेको अवस्थामा अर्थतन्त्र सुचारु हुन सकेको छैन । मुलुकलाई संकटबाट पार लगाउँन सकस पर्ने अवस्था सिर्जना भएको छ । संकटका बेला सरकारको भूमिका अभिभावकको जस्तो हुनु पर्छ ।

मुलुकबासीप्रतिको जिम्मेवारीवोधले प्रेरित हुनुपर्छ। प्रधानमन्त्री ओलीकै सचिवालय सदस्यसमेतको संलग्नतामा स्वास्थ्य सामग्री र उपकरण खरिदमा अनियमितता भएको विषय सार्वजनिक भएपछि त्यसको तिब्र बिरोध भइरहेको छ ।
औषधि खरिदकै प्रसंगमा जुन तहको पारदर्शिता हुनु पर्दथ्यो , त्यो देखिएन। अहिले फेरि त्यही कम्पनीका सामग्री प्रयोग गर्ने र ठेक्कालाई अर्को ढंगले उसैलाई दिने तयारी भएको समाचार बाहिर आएको छ। यतिबेला सरकारलाई सबैले सहयोग गरेका छन्। सबैले अपेक्षा गरेको सरकारका कामको पारदर्शितामात्र हो।
लकडाउन अवधिमा जुन गतिमा संक्रमण परीक्षण हुनुपथ्र्यो, त्यो पनि भएन। नेपालले आवश्यक तयारी गर्नुपर्ने थियो। त्यस्तो तयारी नगरी संक्रमित मुलुकबाट यात्रु नेपाल आइरहन दिने कामले पनि समस्या बढाएको हो।
समयमै निर्णय गर्न नसक्दाको परिणाम आज हामी भोगिरहेका छौँ। प्रधानमन्त्री ओलीले भनेजस्तै आगामी दुई साता मुलुकका निम्ति कष्टकर छन्। यो सर्वसाधारणका निम्ति मात्र होइन, सरकारका निम्ति पनि कष्टकर हुनेछ। शर्मा, नेपाल संरक्षण अभियानका केन्द्रिय संयोजक हुनुहुन्छ ।
