उपत्यकामा १ लाख ६० हजार परिवारलाई राहत वितरण

२७ चैत्र २०७६, बिहीबार ०८:५९

काठमाडौं, उपत्यकामा कोराना भाइरस (कोभिड–१९) को सङ्क्रमणपछि गरिएको लकडाउनबाट प्रभावित असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक, मजदुर र असहाय गरी एक लाख ६१ हजार ७६५ घर परिवारले राहत सामग्री लिएका छन् । स्थानीय सरकारबाट राहत उपलब्ध गराउने सरकारी योजना अनुसार ती व्यक्तिलाई राहत प्याकेज दिइएको हो ।

स्थानीय तहमार्फत असङ्गठित क्षेत्रमा कार्यरत व्यक्तिका लागि राहत सामग्री वितरण गरिएको हो ।

पसलबाट ग्राहकको घरसम्म सामान ओसारपसार गर्ने व्यक्ति, पर्यटक भरिया, निर्माण सामग्री भरिया, सवारी साधन नचल्ने स्थानमा आवश्यक वस्तु ओसारपसार गर्ने व्यक्ति, ट्रक, टिप्पर र भ्यानबाट सामान लोड गर्ने व्यक्ति र दैनिक ज्याला लिने व्यक्तिलाई राहत सामग्री वितरण गर्ने मापदण्ड बनाइएको थियो ।

उपत्यकामा भने आफ्नै घर भएका, सरकारी जागिरेहरूले समेत राहत सामग्री लिएकाले वास्तविक विपन्न को हुन् छुट्टयाउन कठिन भएको फोरमले जनाएको छ ।

त्यस्तै आफ्ना नातेदारबाहेकका अन्य व्यक्तिका घरमा दैनिक बालबच्चा, शिशु, ज्येष्ठ नागरिक हेरचार गर्ने व्यक्ति, गिट्टी कुट्ने, बालुवा चाल्ने र इँटाभट्टामा काम गर्ने मजदुर, नाङ्लो पसले, दैनिक रूपमा फुटपाथ, ठेलगाडा र साइकलमा सामान बिक्री वितरण गर्ने व्यक्ति, मालवाहक सवारी चालक, डेलिभरी भ्यान सवारी चालक र सहचालक, रिक्सा तथा ठेलागाडा चालकलाई राहत प्रदान गर्न सकिने मापदण्ड छ ।

साथै सवारी साधनको ग्यारेजमा काम गर्ने मिस्त्री तथा मजदुर अन्य व्यक्तिको गार्मेन्ट, टेलरिङ, गलैँचा कारखाजनामा बुट्टा तथा जर्ती भर्ने मजदुरलाई राहत प्रदान गर्न नमुना मापदण्डमा उल्लेख गरिएको छ । उपत्यकाका नगरपालिकाले सबै वडामा आपूर्ति समिति निर्माण गरी उक्त समितिले वडाभित्र भएका असङ्गठित क्षेत्रमा कार्यरत मजदुर र असहायको तथ्याङ्क सङ्कलन गरेको थियो । त्यसपछि राहत सामग्री वितरण गर्न सार्वजनिक सूचना आह्वान गरिएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।