
काठमाडौं , डोटीबाट निर्वाचित सांसद प्रेमबहादुर आलेमगरले जिल्लामा कोरोना भाइरस (कोभिड–१९)को उपचार तथा नियन्त्रणका लागि खटिने चिकित्सकहरुका लागि लाखौं मूल्य बराबरको स्वास्थ्य सामग्री पठाउनु भएको छ ।
सांसद आलेले आज (बुधबार) २ सय बोटल सेनिटाइजर, पिपिई एकसय १० थान, गम बुट ३५ जोडी, हेड क्याप हजार थान, ग्लोब्स १२ सय जोडी, र फुट क्यप एक हजार जोडा,मास्क १२ सय थान,साइरेक्स पाउडर ३० बोतल र स्वाव परीक्षण गर्ने भिटिएम ३०५ थान सामग्री पठाउनु भएको हो । कोरोना भाइरसको उपचारमा खटिने चिकित्सकहरुका लागि सुरक्षित औजारहरुको जिल्लामा कमी भएकोले आफूले उक्त सामग्री पठाएको उहाँले बताउनु भयो । उहाँले ती स्वास्थ्य उपकरण प्रमुख जिल्ला अधिकारी टेकनारायाण पौडलमार्फत उपलब्ध गराउनु भएको हो । बुधबार नै ती सामग्रीहरु सम्बन्धित अस्पताल तथा स्वास्थ्य संस्थामा पुग्ने उहाँले बताउनु भयो ।
स्वास्थ्य सामग्रीहरु सांसद आलेले व्यक्तिगत लगानीमा हेलिकोप्टरमार्फत जिल्ला पठाउनु भएको हो । त्यसका लागि उहाँले विभिन्न मन्त्रालयका साथै सचिवहरुसँग स्वास्थ्य सामग्री जिल्लामा पठाउन आग्रह गर्नु भएको थियो ।
यी सामग्री उपलव्ध भएपछि डोटी जिल्लामा स्वाव परीक्षण संकलन गरिने छ । राजपुर केन्द्रको पुर्विचौकी गाउँपालिका केआइसिंह गाउँपालिका र दिसि नगरपालिकाबाट, खत्याडी केन्द्रमा बोगटान फुडसिल गाउँपालिका, विपीनगर केन्द्रमा जोरायल गाउँपालिका र बडिकेदार गाउँपालिका, मौवा केन्द्रमा सायल गाउँपालिका र आदर्श गाउँपालिका तथा धुर्कोट केन्द्रमा शिखर नगरपालिकाबाट स्वावको नमुना संकलन गरी स्वाब परीक्षण गरिने छ ।
बुधबार सामग्री हस्तान्तरणपछि सांसद आलेमगरले भारतबाट फर्किएका जिल्लाका क्वारेन्टाइनमा रहेका सबै स्थानीय नागरिकको स्वाव संकलन गर्न सकिने प्रतिकृया दिनु भयो ।
जिल्ला स्वास्थ्य कार्यालय डोटीका स्वास्थ्य अधिकृत रमेश मलासीले स्वास्थ्य सामग्री बुझ्दै जिल्लामा चिकित्सकहरुलाई बिरामी चेकजाँच सहित कोरोना नियन्त्रण अभियानमा सहज हुने बताउनु भयो ।

