
डा डिआर उपाध्याय
विश्व अहिले कोरोना महामारीको संकटमा छ। विश्वभरका समस्त मानव जाति नै यस महामारीबाट आतंकित छन । महिनौंसम्म आफ्नो जीवनचर्यालाई कोठाभित्र सीमित गरेका छन् । सम्पूर्ण मानव यतिखेर कोरोना बिरुद्दको लडाईंमा लागेको छ।
अहिलेसम्म कोरोना भाइरस महाकालको रूपमा कोलाहल मच्चाउँदै विश्वभर फैलिरहेको छ। यो रोग चीनबाट विश्वभर विस्तार भएको हो ।
अहिले कोरोना भाइरसबाट १२ लाख बढीमा संक्रमण भइसकेको र झन्डै उनन्सत्तरी हजारको ज्यान गइसकेको छ। मानिसको मृत्युको संख्या हेर्दा अन्य पहिलेका महामारी जस्तो नदेखिए पनि यसको तीव्र विस्तार अति डरलाग्दो देखिँदैछ। यसको रोकथामका लागि वैज्ञानिक जगत अहोरात्र खटिरहेकाले चाँडै यसबाट मुक्ति पाउने आशा गर्न सकिन्छ।
कोरोनाको महामारीले विश्व अर्थतन्त्रमा पर्ने प्रभावबारे भविष्यवाणी गर्ने क्रम सुरु भइसकेको छ। यसले आर्थिक मन्दी ल्याउने, आर्थिक वृद्घिदरमा निकै कमी आउने, बेरोजगारी दरमा व्यापक वृद्घि आउने जस्ता विश्लेषण अर्थशास्त्रीको छ।
