बिष्णु प्रसाद शर्मा,

कोरोना भाइरस (कोभिड १९) को महामारीले बिश्वभरी नै आतंकित बनाएको छ । यो महामारीबाट बचौं र अरुलाई पनि बचाऔं । कोरोनाका कारण छिमेकी भारतबाट जन्मभूमि सम्झँदै लाखौं नेपाली घर फर्किएका छन् भने केही नेपाली अझै सीमामा अलपत्र परेको अवस्था छ । सीमामा अलपत्र परेका नेपाली नागरिक प्रति अझै सम्म पनि राज्यको ध्यान जान सकेको छैन। विपत्ति र दुःखमा आफ्नो जन्मभूमि सम्झिने मानवीय स्वभाव हो।
कुनै पनि देशले आफ्ना नागरिकलाई सीमामा अलपत्र पार्न मिल्दैन। यो दुखद कुरा हो । कुनै पनि नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाउन पाइँदैन। आफ्नो देशमा प्रवेश गर्ने, स्वतन्त्रपूर्वक देशभित्र हिँड्डुल गर्ने, व्यापार व्यवसाय गर्ने र नागरिक जीवन जीउने हक सबै नेपाली नागरिकलाई बराबर हुन्छ। उनीहरूका दुःखमा साथ दिने काम सरकारको हो। सीमामा भीडभाड गराइराख्यौं भने कोरोनो संक्रमणको जोखिम झन् बढेर जाने खतरा देखिन्छ ।
नेपाली सीमा क्षेत्रमा आइपुगेका नागरिकलाई पुनः भारततर्फ नै फिर्ता गर्ने काम जायज हुदैन । बोर्डरमा आइसकेका नागरिककलाई व्यवस्थित र सुरक्षित रूपमा आफ्नो देशभित्र प्रवेश गराउने र कोरोेना संक्रमणबाट बच्ने उपायको खोजी राज्यले गर्नु पर्ने आबश्यकता देखिएको छ ।
छिमेकी भारतमा लाखौं नेपाली छन्। उनीहरुको सुरक्षा, स्वास्थ्योपचार र अन्य सुविधाका लागि नेपाल सरकारले भारत सरकारसँग कूटनीतिक रूपमा छिटो भन्दा छिटो वार्ता गर्नुपर्छ। सीमासम्म आइपुगेकालाई तत्काल भित्र प्रवेश गराउने पहल गर्नु पर्छ ।
गड्डाचौकी, रुपैडिया, दोधारा, चाँदनी, सुनौली नाकामा हजारौैं नेपाली देश फर्किन पाउँ भन्दै रुवावासी गरिरहेका समाचारहरु आइरहेका छन । भारतीय सीमा क्षेत्रमा अलपत्र परेका नागरिक लाई अविलम्ब देशभित्र प्रवेश गराएर सुरक्षाका उपाय अपनाउनेतर्फ सरकारको ध्यान जानुपर्छ। यो नै अहिलेको आबश्यकता हो । विपत्का बेला मानसिक रूपमा समेत आक्रान्त बनेका नागरिकमाथि राज्यको अभिभावकीय भूमिका महत्तवपूर्ण रहन्छ। यतिबेला विभिन्न देशले आफ्ना नागरिकको उद्घार गरिरहेको छ। प्लेन चार्टर गरेर आआफ्ना नागरिक ओसारिरहेका छन्। कतार, दुबई, साउदीलगायतका देशमा रहेका कामदारदेखि अध्ययन र अन्य काममा विदेशमा रहेका नागरिकको सुरक्षाका लागि सरकारले सम्बन्धित देशसँग कूटनीतिक रूपमा संवाद र छलफल गर्नुपर्छ।सिंगो विश्व समुदाय कोरोनाको महामारीले आक्रान्त छ। यस्तो बेला आफ्ना नागरिकको सुरक्षालगायतका अन्य व्यवस्था गर्नु राज्यको कर्तव्य र जिम्मेवारी हो। दुःख र विपत्तिाका बेला नै नागरिकले राज्य वा सरकार खोज्ने हो। सरकारले यस्तो बेला अभिभावकीय भूमिका निर्वाह गर्न सक्नुपर्छ।
यतिबेला सिंगो मुलुक लकडाउनका कारण विद्यालय, धर्मशाला, कलेज जस्ता सार्वजनिक संस्थाहरू बन्द छन्। सीमामा अलपत्र परेका नागरिकले पनि क्वारेन्टाइनमा बस्ने र स्वनियमको पालना गर्नुपर्छ। क्वारेन्टाइनमा बस्नु भनेको जो नेपाली आउँछन्, उनीहरू स्वयं र उनीहरूका परिवार, आफन्त र छिमेकीको सुरक्षाका लागि पनि हो भन्ने बुझाउनुपर्छ। पश्चिम नेपालमा भारतबाट लाखौं नेपाली भित्रिएका खवर आएका छन । उनीहरूको स्वास्थ्य जाँच, औषधि र सुरक्षाका लागि त्यस क्षेत्रमा औषधिसहितका स्वास्थ्य सामग्री पठाउनेतर्फ पनि सरकारको ध्यान जान जरुरी छ। यति बेला केन्द्र सरकारदेखि स्थानीय तहबीच समन्वयको खाँचो छ। शर्मा , नेपाल संरक्षण अभियानका केन्द्रिय संयोजक हुनुहुन्छ ।
