
काठमाडौं , कलङ्की स्थित रहेको नेपाल नेशनल अस्पतालले विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसबारे निःशुल्क जानकारी लिन हटलाइन सेवा शुरू गरेको छ ।
अस्पतालले रोटरी इन्टरनेशनल र रोटरी क्लब अफ जावलाखेलको सहकार्यमा अस्पताल परिसर कलङ्कीमा निःशुल्क हटलाइन सेवा शुरू गरेको हो । अस्पतालका मेडिकल निर्देशक डा प्रकाश पौडेलका अनुसार विश्वव्यापीरूपमा फैलिँदै गएको कोराना र अन्य स्वास्थ्य सेवा घरबाटै बसेर लिन सकिने गरी अस्पतालले हटलाइन सेवा सञ्चालन गरेको हो । उहाँले कुनै पनि प्रकारको स्वास्थ्य परामर्श लिन परेमा ११४७ नम्वरमा फोन गर्न सबैलाई आग्रहसमेत गर्नु भएको छ ।
यस्तै अस्पतालले कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न किसिमको जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै कोरोना रोगको उपचारका लागि आइसोलेसन कक्षसमेत निर्माण गर्न लागेको छ ।
