गुल्मी र अर्घाखाँचीका ११४ जना सहित २९० नेपाली नौतुनवामा अलपत्र

४ बैशाख २०७७, बिहीबार १२:२३

काठमाडौं , नेपाल प्रवेश गर्न नदिएर नौतुनवामा १७ दिनदेखि अलपत्र परेका नेपालीले आफूहरुमाथी अमानवीय व्यवहार भएको गुनासो गरेका छन् ।

आफूहरुलाई विद्यालयको कोठामा सामुहिक रुपमा राखिएको, गर्मिमा र लामखुट्टेले सताएको र कोरोनाको जोखिमबाट बच्न कुनै सुरक्षा प्रवन्ध नगरीएको गुनासो गरेका हुन् ।

नेपाल पुग्दै लाग्दा गत चैत १२ गते गुल्मी र अर्घाखाँचीका ११४ जना सहित २९० जनालाई नेपालले प्रवेश नदिएर सीमा नाकामा रोकिएको थियो ।

त्यसपछि उनीहरुलाई भारतले नौतुनुवाको एक विद्यालयमा राखेको छ । तर गर्मीमा लामखुट्टेको टोकाई र खाने बस्ने समस्याले आफूहरु तनावमा रहेको अर्घाखाँचीको मालारानीका सचिन खनालले बताए ।

‘स्कूलको कोठामा सबै सामुहिक रुपमा बसेका छौँ, गर्मि र लामखुट्टेको टोकाईबाट बच्ने उपाय छैन,’ उनले आजको अर्थसँग भने ‘पालेले लाइन माथिको आदेश भन्दै बिजुलीको लाइन काटेपछि फ्यान चलाउन, मोवाइल चार्ज गर्न केही पाइँदैन ।’

नगर निगमका सरसफाईँ मजदुरले बिहानै खाना बनाएर राखिदिने र रातो खुर्सानी राखेको पीरो दाल खाइनसक्नु भएको उनीहरुको गुनासो छ ।

सरकारले १४ दिन भनेपनि १७ दिन क्वारेण्टाइनको नाममा कष्ट काटेकोले नेपाल सरकारले आफ्नो देशमै क्वारेण्टाइनमा राख्नेगरी आफूहलाई प्रवेश दिनुपर्ने नेपालीहरुको माग छ ।

कार्यक्षेत्रबाट हिँडेर घर न घाटको भएपछि आफूहरु समस्यामा र घरपरिवार चिन्तामा परेर छटपटिएको नेपालीहरुको गुनासो छ ।

‘चुनावको बेला कार्यक्षेत्रमै गाडि पु–याउने नेताहरु अहिले सीमा सम्म आउँदा पनि प्रक्रिया पु–याएर उद्दार गर्न सकेनन्, हाम्रो लागि नत स्थानीय सरकार रहेछ नत प्रदेश नत केन्द्रीय सरकार’, खनाल भन्छन्, ‘सरकार, कोरोनाबाट बाँच्न राखेको हो की डेंगु र कोरोना एकैपटक लगाएर मार्न ? (आजको अर्थबाट )