आजदेखि कालीमाटी तरकारी बजार बन्द

२७ चैत्र २०७६, बिहीबार ०९:१०

काठमाडौं ,आजदेखि कालीमाटी तरकारी बजार बन्द गरिने भएको छ। काठमाडौँ महानगरपालिकाले कालीमाटीमा तरकारी किन्ने उपभोक्ता र व्यापारीको भीड नियन्त्रण गर्न कारोबार बन्द गरेको हो।

बजारमा बिहीबारदेखि तरकारी भित्रिए पनि कारोबार भने महानगरले तोकेका बजारबाट मात्रै गरिने भएको छ । महानगरपालिकाले बन्दाबन्दी अवधिभर र कोरोना भाइरस नियन्त्रण नहुँदा सम्मका लागि विभिन्न ११ स्थानमा अस्थायी बजार स्थापना गरी बिक्री वितरणको प्रबन्ध मिलाउन कालीमाटी समिति र थोक व्यापारीलाई आग्रह गरेको छ। साथै तरकारी बिक्रीका लागि आवश्यक स्थान भने महानगरपालिकाले उपलब्ध गराउने जनाएको छ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले काठमाडौँको खुलामञ्च, तीनकुने, गौशाला, चक्रपथ, महाराजगञ्ज, बालाजु, बल्खु लगायतका ११ स्थानमा तरकारी बिक्रीको प्रबन्ध गर्नेगरी तयारी भएको जानकारी दिनु भयो । उहाँले कालीमाटी बजारमा बाहिरबाट भित्रिएका सबै तरकारी स्टोर गरिन्छ र तिनै तरकारी थोक व्यापारी मार्फत महानगरपालिकाले तोकेका बिक्री केन्द्रमा लगेर बिक्रीको प्रबन्ध मिलाइन्छ भन्नु भयो ।