कोरोना संक्रमणबाट बच्न डा रवीन्द्र पाण्डेका १० सुझाव

१६ बैशाख २०७७, मंगलवार १४:४०

काठमाडौं , मानिसमा रहेको अन्तर्निहित रोगलाई नियन्त्रणमा राख्न सके कोरोना रोगबाट डराउनु नपर्ने विज्ञले बताएका छन् ।

कोरोना भाइरसबाट बच्न जनचेतना जगाउन सक्रिय जनस्वास्थ्य विज्ञ डा।रवीन्द् पाण्डेले अन्तर्निहित रोगलाई सन्तुलनमा राख्न सकेमा दीर्घरोगी समेत डराउनुनपर्ने उनले बताएका छन् ।

उहाँले सामाजिक सञ्जाल फेसबूकमा लेखेको यी सुझाव

कोरोना भाइरसले हामीलाई मार्दैन । मृत्यु हाम्रो आफ्नै कारणले हुने हो । हामीमा अन्तर्निहित रोग वा अवस्थालाई सन्तुलनमा राख्न सकेमा दीर्घरोगी समेत डराउनु पर्दैन । यो लकडाउन तथा सेमी लकडाउनको बेलामा उच्च सतर्कता तथा यी उपाय अपनाएर आफुलाई सुरक्षित राख्न सकिन्छ ।

१। मुटुको रोग, उच्च कोलेस्टेरोल, उच्च रक्तचाप छ भने नुनको सेवन कम गरौँ, घ्यु तथा बोंसोको सेवन नगरौं, बिहान आधा घण्टा र बेलुका आधा घण्टा व्यायाम गरौँ । खाना ठिक्क मात्रामा खाने गरौँ । सकभर साकाहारी भोजन गरौँ । सागसब्जी, फलफुल तथा गेडागुडी प्रसस्त खाने गरौँ । लगायतका ड्राइ फ्रुट खाने गरौँ । धपेडी हुने गरि व्यायाम नगरौं । ८ घण्टा सुतौं । आफुले सेवन गरेका औषधि नछोडौं । समयसमयमा रक्तचाप, कोलेस्टेरोल तथा मुटुको जांच गरौँ । भिटामिन सि, जिंक, फिस आयल लगायतका सप्लिमेन्ट सेवन गरौँ । योग, ध्यान गरौँ । मानसिक तनाब ब्यबस्थापन गरौँ । चुरोट, सुर्ती तथा मदिरा पूर्ण रुपमा त्याग गरौँ ।

२। मधुमेह छ भने बिहान र बेलुका ३० र ३० मिनेट व्यायाम गरौँ । चिनी, ग्लुकोज, मिठाइ, गुलियो बिस्कुट, कोल्ड ड्रिंक्स सेवन नगरौं । औषधि नियमित सेवन गरौँ । करेला, लसुन, प्याज, मेथी, परबल, लौका लगायतहरियो सागसब्जी तथा कम गुलियो फलफुल सेवन गरौँ । ठिक्क मात्रामा खाना खाने गरौँ । एक छाक रोटी, एक छाक भात सेवन गरौँ । बिस्तारै पेट घटाउने प्रयत्न गरौँ । समयसमयमा ब्लड ग्लुकोज टेस्ट गरौँ । घटबढ भए आफ्नो चिकित्सकसंग सम्पर्क गरौँ ।

३। दम लगायत श्वासप्रश्वासको समस्या छ भने बिशेष सतर्क बनौं । नियमित सेवन गर्ने औषधि नछोडौं । अदुवा, ज्वानो, कागतीको रस, बेसार, तुलसी, दालचिनी पकाएर बिहान बेलुका खाने गरौँ । मनतातो पानी सेवन बराबर गरौँ । चिसोबाट बचौं । अदुवा, मरिच, ल्वांग राखेको कालो चिया पटकपटक खाने गरौँ । अनुलोम र विलोम लगायत प्रणायाम नियमित गरौँ । खोकी धेरै लागेमा, सास फेर्न गाह्रो भएमा तुरुन्त जांच गरौँ । संक्रमणबाट बचौं । चुरोट एक सर्को पनि सेवन नगरौं ।

४। कलेजोमा बोंसो जमेको छ भने अर्थात मोडरेट वा डिफ्युज फ्याटी लिभर छ भने पेट घटाउने खालको व्यायाम गरौँ । अनुलोम र विलोम पनि गरौँ । घ्यु, बोंसो, डीप फ्राई गरेको खानेकुरा सेवन नगरौं । गुलियो एकदम कम सेवन गरौँ । ग्रिन टि तथा सुप खाएर मात्र खाना खाने गरौँ । अन्न ५० प्रतिशत घटाएर सागसब्जी तथा रसिला फलफुल खाने गरौँ । जगिंग वा एकदम लाभदायक हुन्छ ।

५। मृगौलाको समस्या छ भने हल्का व्यायाम गरौँ । औषधि नियमित खाने गरौँ । रोग प्रतिरोधात्मक क्षमता बढाउन ताजा खाना खाने गरौँ । घरमा आइसोलेट भएर बसौं । डाइलाइसिस गरेका बिरामीले नियमित डाइलाइसिस गरौँ । इम्युनोसप्रेसान्ट औषधि सेवन गरेका बिरामीले थप आइसोलेसनमा बसौं । कोरोना संक्रमण कुनै हालतमा पनि नसरोस् भनेर पूर्ण सतर्क बनौं ।

६। युरिक एसिड बढेको छ भने पानी प्रसस्त खाने गरौँ । रातो मासु, गेडागुडी तथा पुरानो अचार खाने नगरौं । योग गरौँ । लसुनको सेवन लाभदायक हुन्छ । रगतमा युरिक एसिड जांच गरेर चिकित्सकको सिफारिसमा नियमित औषधि सेवन गरौँ ।

७। थाइराइडको समस्या छ भने खाइरहेको औषधि नछोडौं । समयसमयमा रगत जांच गरौँ । स्वस्थ आहार, बिहार तथा आचार अबलम्बन गरौँ ।

८। मानसिक रोग भएका व्यक्तिले ब्यायाम, योग, ध्यान, प्रबचन श्रबण तथा श्वासको अब्यास नियमित गरौँ । आत्मबल बढाउने खालका पुस्तक, लेख पढ्ने तथा मोटिभेसनल स्पीच सुन्ने गरौँ । निद्रा नलागेमा ओशो वा रविशंकरको ‘ हठयोग निद्रा ‘ सुनेर निदाउने अभ्यास गरौँ । सुत्नुअघिं दुधको सेवन गरौँ । सामाजिक संजाल तथा समाचार सिमित समयमात्र हेर्ने गरौँ । कमेडी कार्यक्रम, रमाइला फ्लिम हेर्ने गरौँ । मनोपरामर्श तथा मनोबिदको सल्लाहको अनुसरण गरौँ । औषधिसेवीले औषधि नछोडौं ।

९। क्यान्सर भएका व्यक्तिले औषधि, केमो, रेडियोथेरापी जे अवलम्बन गर्नुभएको छ, त्यसलाई नियमित गरौँ । भिटामिन सि, इ, जिंक, कड लिभर आयल, गुर्जोको चिया लगायत इम्युनिटी पावर बढाउने सप्लिमेन्टको नियमित सेवन गरौँ । आइसोलेसनमा बसौं ।

१०। पक्षघात भएका व्यक्तिले सहयोगीको सहयोगम हल्का व्यायाम गरौँ । रगत पातलो हुने लगायतका औषधि नछोडौं । होम आइसोलेसनमा बसौं । कागती, हरियो लसुन, हरियो प्याज, धनियाँ , पुदिना, सुन्तला, मौसम, अमला लगायत फलफुल सेवन गरौँ ।

यो बाहेक अंग प्रत्यारोपण गरेका व्यक्ति, इम्युनोकम्प्रोमाइज्ड बिरामी, कुपोषण भएका व्यक्ति आदिलाई अवस्था अनुसार औषधि, पोषण तथा सेल्फ आइसोलेसनमा बसौं ।

कोरोना भाइरसले हाम्रा अंगमा एट्याक गर्दा हाम्रा अंग बलिया भएमा हामीले जित्नेछौं । त्यस्तै कोरोना भाइरससंग भेट नहुने बाताबरण सिर्जना गर्नु सबैभन्दा सुरक्षित उपाय हो । त्यसैले दीर्घ औषधिसेविहरु घरमा बस्ने, सरसफाइमा तथा खानपिनमा ध्यान दिने लगायतका रक्षात्मक उपाय अबलम्बन गर्नु उत्तम उपाय हो ।