,

काठमाडौं ,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि विदेशबाट फर्केका नागरिकको अभिलेख वडास्तरमै राख्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ । साथै, मन्त्रालयले विदेशबाट फर्किएका नागरिकको अभिलेख मन्त्रालयमा दैनिक पठाउन निर्देशन जारी गरेको छ ।
मन्त्रालयले कोरोनाबाट बच्न उच्च सतर्कता अपनाउन सबै स्थानीय तहलाई निर्देशन दिँदै जनताको नजिकको सरकारका रूपमा रहेको स्थानीय तहलाई आवश्यक समन्वय गर्न आग्रहसमेत गरेको छ ।
मन्त्रालयले आइतबार पत्राचार गर्दै ७५३ वटै स्थानीय तहका छ हजार ७४२ वटै वडामा विदेशबाट फर्किएका नागरिकको निगरानी, रेखदेख र सोको सङ्ख्यात्मक विवरण दैनिक रूपमा मन्त्रालयमा प्रतिवेदन पठाउन सबै प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन गरेको हो ।
कोरोना भाइरस संक्रमण हुन नदिन मन्त्रालयले सामाजिक, सांस्कृतिक कार्यका लागि मठ, मन्दिर, गुम्बा, चर्च, पार्टी प्यालेस लगायतका सार्वजनिक स्थलहरूमा २५ जनाभन्दा बढी भेला हुन नदिन सुझाएको छ ।
यसैगरी सिनेमा हल, सांस्कृतिक केन्द्र, रङ्गशाला, जिम केन्द्र, हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल र डान्सबारजस्ता भीडभाड हुने स्थान चैत मसान्तसम्म बन्द गराउन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गरेको हो ।
सार्वजनिक सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु ओसारपसार गरे÷नगरेको अनुगमन गरी सिट क्षमताभन्दा बढी यात्रु राख्न नदिने, मानिसहरू जमघट हुने सार्वजनिक स्थानमा सरसफाइ गराउने, कार्यालय भवन तथा परिसरको नियमित रूपमा सरसफाइ गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।
यस्तै कार्यालय परिसरमा अनिवार्य रूपमा सेनिटाइजर वा साबुन पानीले हात धुने पानीको व्यवस्था गर्न मन्त्रालयले ७५३ वटा स्थानीय तहलाई निर्देशन गरेको मन्त्रालयको विपद् व्यवस्थापन शाखा प्रमुख ऋषिराज आचार्यले जानकारी दिए ।
कोरोनाले नेपाली जनमानसमा त्रास बढाइरहेका बेला स्थानीय तहका जनप्रतिनिधिले सर्वसाधारणलाई त्रसित नहुन सचेतना अभिवृद्धि गर्दै घरदैलो अभियान चलाएका छन् । कोरोना भाइरसबाट त्रसितभन्दा पनि सचेत बन्न स्थानीय सर्वसाधारणलाई घरघरमा पुगेर सचेतना अभियान सञ्चालन गरिएको जनप्रतिनिधिले बताएका छन् ।
नगरपालिकामा प्रमुख र उपप्रमुख, गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षको संयोजकत्वमा अनुगमन समिति निर्माण गरी अनुगमन गरिएको नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले जनाएको छ ।
प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा वडास्तरीय र टोलटोलमा वडा सदस्यको संयोजकत्वमा अनुगमन समिति निर्माण गरी सर्वसाधारणलाई सचेतना अभिवृद्धि गरिएको छ ।(आजको गोरखापत्र दैनिकबाट)
