
काठमाडौं, सरकारले भीडभाड गर्ने स्थल बन्द गर्न निर्देशन गरेलगत्तै बिहीबार चिडियाखाना प्रायः सुनसान देखिएको थियो भने उपत्यकाका अधिकांश संग्रहालय बन्द प्रायः भएका थिए।
भीडभाड हुने धेरैजसो स्थान सुनसान थियो। कोरोना भाइरसको संक्रमण हुनसक्ने त्रासले चिडियाखानालगायत सबै मनोरञ्जनस्थल खाली भएका थिए। लगत्तै दिउँसो तालुकदार मन्त्रालयले आज शुक्रबारबाट बन्द गर्ने निर्देशन दिएपछि सबै निकायले सार्वजनिक सूचना गरी चैत मसान्तसम्म बन्द गर्ने घोषणा गरेका छन्।
सदर चिडियाखानाका सूचना अधिकारी लिना चालिसेले आजबाट चिडियाखाना बन्द हुने जानकारी दिँदै भने, ‘राष्ट्रिय प्रकृति संरक्षण कोषको बैठकले चिडियाखाना बन्द गर्ने सूचना पठाएपछि अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेका हौं।’
पछिल्लो एक सातादेखि चिडियाखानामा आउने अन्तरिक र बाह्य पर्यटकको संख्या घट्दै गएको थियो।
‘चाडवाड भएको बेला १० हजार र अन्य दिन कम्ती पनि करिब २ हजारले अवलोकन गर्ने चिडियाखानामा अहिले करिब ६ सय मात्रै पुगेको छ,’ चालिसेले भने । उनले सरकारले अर्को निर्णय नगरेसम्मका लागि बन्द रहने जानकारी दिए ।
यस्तै उपत्यकामा रहेका करिब एक दर्जन संग्रहालय करिब एक महिनाका लागि बन्द भएका छन्। हनुमानढोका दरबार संग्रहालय, पाटन दरबार संग्रहालय, भक्तपुर दरबार संग्रहालय, पचपन्ने झ्याले दरबार, छाउनी संग्रहालय, पर्यटन बोर्डमा रहेको जातीय संग्रहालय, नारायणहिटी दरबार संग्रहालयलगायत सबै बन्द भएका छन्।
नारायणहीटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले अर्को निर्णय नभएसम्म बन्द गर्ने निर्णय भएको जानकारी दिए ।
संग्रहालयले वैशाख १ गतेदेखि श्रीसदन र गणतन्त्र स्मारक खोल्ने निर्णय गरेको थियो। अहिलेलाई सबै कार्यक्रम स्थगित गरेको उहाँको भनाइ छ। हनुमानढोका संग्रहालयका कर्मचारी मिठाराम पुडासैनीले हनुमानढोका र भर्खरै खुलाइएको गद्दी बैठकसमेत बन्द गरिएको जानकारी दिए ।( नेपाल समाचारपत्र)
