
काठमाडौं, कोरोनाविरुद्ध लड्न सार्क राष्ट्र आन्तरिक रणनीति बनाउँदै
कोभिड–१९ अर्थात् कोरोना भाइरससँग लड्न एकजुट हुने प्रयास अन्तर्गत साझा रणनीति निर्माणका लागि सार्क राष्ट्र आन्तरिक गृहकार्यमा व्यस्त छन् ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य मुलुकहरूले पहिलो पहल अनुसार पाँच दिनअघि भिडियो सम्मेलन गरेर आफ्ना अनुभव साटासाट गरेका थिए । जसले विश्व मञ्चमा सकारात्मक सन्देश दिएको थियो ।
सङ्कटका बेला क्षेत्रीय पहलमै केही गर्न सक्ने क्षमता प्रकट गरेको भन्दै अन्तर्राष्ट्रिय क्षेत्रमा भिडियो सम्मेलनको प्रशंसा गरिएको थियो । भिडियो सम्मेलनमा गर्न सकिने पहलका बारेका समेत बहस भएको थियो ।
साझा रणनीति बनाउनेसँगै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाबाट बच्ने सङ्घर्षका लागि आपत्कालीन कोष खडा गर्न प्रस्ताव गरेका थिए ।
कोरोना फैलावटको नियन्त्रण तथा त्यसका लागि सबै सदस्य राष्ट्रले एकसाथ पूर्वतयारी, कार्यसम्पादन र बनेका रणनीतिको सफल कार्यान्वयन हुनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सार्क मुलुकका राष्ट्राध्यक्ष तथा सरकारका प्रमुखले एकमत प्रकट गरेका थिए ।
सो अनुसार सार्क मुलुक आफ्नो गृहकार्यलाई ठोस रूप दिन अभ्यासरत छन् । जसअनुसार नेपालले आफ्नो योजना निर्माणमा पहलकदमी लिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मुख्यगरी आपत्कालीन कोषमा सहभागिता जनाउने र साझा रणनीतिमा आफ्ना बलियो धारणा प्रस्तुत गर्ने विषयमा सरकारले तयारी सुरु गरेको जानकारी परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले दिए ।
उनका अनुसार भिडियो सम्मेलनका आधार पछ्याउने क्रममा परराष्ट्रस्थित क्षेत्रीय सङ्गठन महाशाखाले नेपालको हकमा हुने गरी पहल थालेको छ । जसमा नेपालका विभिन्न मन्त्रालय, सरोकारवाला निकायलाई सक्रिय बनाएर सुझाव सङ्कलन थालिएको छ ।
‘परराष्ट्र मन्त्रालयले जुन मन्त्रालय वा निकायले रणनीति वा कोषमा साझेदारीका लागि आफ्नो तर्फबाट तर्कसङ्गत तथा व्यावहारिक सुझाव प्रस्तुत गर्न सक्नेछन्’ पौडेलले भने ।
नेपालको तर्फबाट रणनीति निर्माण तथा समग्र समन्वयको आधार पहिचान गर्न परराष्ट्र सचिव शङ्करदास बैरागीले सार्कका नवनियुक्त महासचिव एसाला बिराकुनसँग छलफल गरे ।
सो भेटमा रणनीति निर्माणको सहकार्यसहित कसरी अघि बढ्ने भन्नेबारेमा छलफल भएको थियो । यस विषयमा सबै मुलुकसँग सहकार्य गरेर नै अघि बढ्नुपर्ने हुँदा सबै देशले आफ्नो तवरबाट यतिबेला गृहकार्य र आगामी कार्यदिशा बुझ्ने प्रयासमा रहेको जानकारी सार्कका महासचिव बिराकुनले परराष्ट्र सचिवलाई गराएका थिए ।
भारतले प्रस्ताव गरेको आपत्कालीन कोषमा प्रधानमन्त्री ओलीको सकारात्मक जवाफ अनुसार त्यसको उपयोग कसरी गर्ने भन्ने विषयमा आफ्नो धारणा बनाउने भन्नेतर्फ परराष्ट्र मन्त्रालयको नेतृत्वमा काम भइरहेको छ ।
‘नेपालले त्यस कोषको तत्काल उपयोग कसरी गर्ने र केही थप गरेर जाने मनसाय राखेमा कुन मोडलमा जाने भन्नेबारेमा गृहकार्य भइरहेको छ,’ प्रवक्ता पौडेलले बताए ।
नेपालस्थित सार्क सचिवालयले भने सार्क मुलुकसँग समन्वय गरी आगामी रणनीतिलाई कुन मोडेलमा प्रस्तुत गरेर अघि बढ्न सकिन्छ भन्ने तयारी गरिरहेको छ ।(आजको गोरखापत्र दैनिकबाट)
