
नेपालगन्ज, कोरोना भाइरस संक्रमितको पहिचान र नियन्त्रणका लागि प्रदेश ५ का मुख्य सीमानाकामा उच्च सतर्कता अपनाइएको छ। भैरहवा, नेपालगन्ज, कपिलवस्तुलगायत सीमानाकामा सरकारले विशेष निगरानी बढाएको हो।
नेपालगन्जस्थित नेपाल–भारत सीमानाकामा सतर्कतास्वरुप सुरक्षा र स्वास्थ्य जाँचमा कडाइ गरिएको छ। नाकामा हेल्थ डेस्क राखेर नेपाली र भारतीय यात्रुको स्वास्थ्य जाँच गरिएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (एसपी) वीरबहादुर ओलीले भने, ‘नाकामा प्रहरी परिचालन भएर उच्च सतर्कता अपनाइएको छ, स्वास्थ्य जाँचका लागि स्वास्थ्यकर्मी पनि खटिएका छन्। उताबाट आउनेलाई निगरानीमा राखिएको छ।’
सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइए पनि नाका चालु अवस्थामा रहेको उनले बताए। ‘अहिलेसम्म नाका खुला छ, भारततिरबाट नाका बन्द भनेर हामीलाई अहिलेसम्म जानकारी आएको छैन,’ उनले भने। कोरोनालाई लक्षित गरेर सुरक्षा जाँचमा कडाइ गर्दा लागुऔषध कारोबारी पनि समातिएको ओलीले बताए।
बेलहिया–सुनौली नाकामा पनि भारतबाट भित्रिनेको स्वास्थ्य जाँचमा कडाइ गरिएको छ। जिल्ला स्वास्थ्य समिति महाराजगन्ज (भारत) ले पनि दसगजा क्षेत्रमा अस्थायी हेल्थ डेस्क स्थापना गरी नेपालबाट भारततर्फ जाने सबै यात्रुको स्वास्थ्य जाँच गरिरहेको छ। कोरोना त्रास बढ्दै गएपछि भारतबाट आउने यात्रुको स्वास्थ्य जाँच गरिएको बेलहिया नाका हेल्थ डेस्क इन्चार्ज डा।पारसनाथले बताए।(आजको नागरिक दैनिकबाट)
