
बुटवल – तिनाउ नदीमा ६ लेनको अत्याधुनिक र आकर्षक ‘सिग्नेचर ब्रिज’ बन्ने भएको छ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत हालको तिनाउ पुल जीर्ण हुँदै गएको र बुटवल क्षेत्रको सवारी चाप समेत अत्यधिक बढेका कारण नयाँ ‘सिग्नेचर ब्रिज’ निर्माणका लागि तयारी थालिएको सडक विभाग अन्तर्गत पुल महाशाखा प्रमुख दीपक भट्टराइले बताए।
बुटवल क्षेत्रमा ४ लेन र ६ लेन सडकका साथै अन्य ठूला पूर्वाधारहरु पनि बनिरहेकाले भविष्यमा यहाँको सवारी व्यवस्थापन र जितगढी किल्लाको पर्यटन प्रवद्र्धनमा समेत सघाउ पुर्याउने गरी पुल बनाउन लागिएको हो।
बुटवल शहरभित्रबाटै पार गर्न मिल्ने गरि थप २ वटा वैकल्पिक पुल देवीनगर -बुद्दनगर , मगरघाट -मोतिपुर जोड्ने पुल सम्पन्न भइसकेकाले तिनाउमा हाल सञ्चालित पुल भत्काएर ६ लेन बनाइने भएको हो।
भविष्यमा कालिगण्डकी डाइभर्सन गरेर वा ड्याम बनाएर तिनाउको जलसतह बढाउने उपायहरुको खोजी भइरहेको र पुलको किनारामै नेपाली वीरताको गाथा बोकेको जीतगढी किल्ला समेत रहेकाले पर्यटनको अथाह सम्भावनालाई ध्यानमा राखेर ‘सिग्नेचर ब्रिज’ निर्माण गर्ने योजना बनाइएको हो।
यो पुललाई मुलुकमा हालसम्मको सबैभन्दा नयाँ, आकर्षक र अत्याधुनिक प्रविधि सहित डिजाइन गरिने छ। त्यसका लागि अन्तरराष्ट्रिय स्तरमा ख्याति कमाएका ‘सिग्नेचर ब्रिज डिजाइनर’ खोजेर डिजाइन र स्टिमेटको जिम्मेवारी दिन लागिएको महाशाखा प्रमुख भट्टराइले बताए।
संसारका विभिन्न मुलुकमा आकर्षक पुल निर्माण गरेर पर्यटन प्रवद्र्धन गरिएकाले बुटवलमा पनि सोहीअनुसारको योजना बनाइएको यहाँका सांसद तथा नेकपा महासचिव विष्णु पौडेलले बताए।
‘पूर्वाधारले नै पूर्वाधारको आवश्यकता सिर्जना गर्दो रहेछ’-सांसद पौडेलले भने–अरु ठूला पूर्वाधारहरु सम्पन्न हुने तर एउटा साँघुरो पुलका कारण शहरको सवारी व्यवस्थापन अस्तव्यस्त नहोस् भन्नका लागि र भविष्यमा जीतगढी घुम्न आउने पर्यटकलाई तिनाउमा जलविहार समेत गराउने उद्देश्य राखेर तिनाउमा आकर्षक पुलको परिकल्पना गरिएको हो।’
