भारतबाट फर्किने नेपालीको लर्को

८ चैत्र २०७६, शनिबार ०८:५३

धनगढी, कञ्चनपुरको पुनर्वास नगरपालिका–९ का रमेश विक रोजगारीका लागि भारतको चेन्नाई जाने गरेका छन् । उनी चार वर्षदेखि ओहोरदोहोर गर्दै आएका थिए । अहिले विश्वभरी महामारीका रुपमा कोरोना भाइरस फैलिएपछि उनी घर फर्किए ।

कैलालीको धनगढीस्थित त्रिनगर नाकामा रहेको ‘हेल्थ डेस्क’ मा स्वास्थ्यकर्मीले उनको ‘थर्मल गन’ ९शारीरिक तापक्रम नाप्ने उपकरण० जाँच गरे ।

‘कमाउनका लागि नियमित रुपमा भारत जाने गरेको छु । अहिले भारतमा कोरोना भाइरसको त्रास भयावह हुँदै गयो’ उनले भने– काम गर्न सक्ने वातावरण रहेन । कुनै विकल्प नभएपछि घर फर्किए । उनले कोरोना भाइरसको त्रास नहटेसम्म भारत रोजगारीमा नजाने बताए ।

डडेल्धुराका पदमबहादुर कार्की भारतको बैंग्लोरमा एक होटलमा काम गर्दै आएका छन् । उनी कोरोना भाइरसको त्राससंगै घर फर्केका छन् । उनले भने– भारतमा अहिले काम गर्ने वातावरण छैन । केही होटल, विद्यालय लगायत आंशिक रुपमा बन्द रहेको छ । उनले कोरोना भाइरसको त्रास नसकिएसम्म घरमै बस्ने बताए ।

भारतकै नयाँदिल्लीमा एउटा होटलमा काम गर्दै आएका कैलालीको गोदावरी नगरपालिकाका प्रेम रावल पनि घर फर्केका छन् । उनले भने– होटलहरू बन्द भए । त्यहाँ खाली बस्नुभन्दा घर फर्किए ।

बैतडीका भरत राणा दुई वर्षदेखि भारतमा फिल्म मेकिङ सम्बन्धी अध्ययन गरिरहेका छन् । ‘अहिले भारतका शैक्षिक संस्थाहरू बन्द छन्,’ उनले भने– कोरोना भाइरसको त्रास पनि थियो । नयाँ वर्षसँगै सुदूरपश्चिम प्रदेशबासीले हर्षोल्लासका साथ मनाउँदै आएको विषु पर्व पनि नजिकिएकोले घर फर्केको हुँ ।’

कैलालीको त्रिनगर नाकाबाट अहिले दैनिकजसो दुई हजार बढि मानिस नेपाल फर्किरहेका छन् । हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी दिनेश ठकुन्नाले भने– दैनिक एक हजार पाँच सयदेखि दुई सय मानिस नाकाबाट प्रवेश गरिरहेका छन । त्यसमा अधिकांस भारत रोजगारमा गएका नेपालीहरू नै रहेका छन् ।

उनले अहिलेसम्म स्वास्थ्य चेकजाँचका क्रममा कसैमा पनि कोरोना भाइरस भाइरसको संक्रमण नदेखिएको बताए । रोजगारीका क्रममा भारतका विभिन्न ठाउँमा रहेका नेपालीमध्ये धेरैजसोले कोरोना भाइरसको सन्त्रासबाट घर फर्किएको बताउने गरेका छन् । यसरी घर फर्किनेमा कैलाली, अछाम, बैतडी, डडेल्धुरा, डोटी लगायत जिल्लाका बासिन्दा रहेका छन् ।(आजको राजधानी दैनिकबाट)