बागमतीमा दुई सय वार्डको आइसोलेसन बन्दै

८ चैत्र २०७६, शनिबार ०८:२२

काठमाडौं, कोरोना संक्रमणमा परेकाहरूको उपचारका लागि बागमती प्रदेश सरकारले धमाधम आइसोलेसन वार्ड बनाउन थालेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर भक्तपुरबाहेक १० जिल्लामा त्यस्ता वार्ड बनाइँदै छ ।

बागमतीमा बढी जनसंख्या भएकाले संक्रमणको दर पनि बढी हुने सम्भावनालाई मध्यनजर गर्दै आइसोलेसन वार्ड निर्माणमा तीव्रता दिइएको सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिए ।

बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री दुलालले बढी जनसंख्या भएका जिल्लामा धेरै र कम भएका जिल्लामा थोरै वार्ड तयारी गरिएको बताए ।

‘मकवानपुरको हेटौँडा र चितवनको भरतपुरमा एक सय ६० शय्याको आइसोलेसन कक्ष तयार हुँदै छ,’ मन्त्री दुलालले भने, ‘रसुवा, धादिङ, रामेछाप, दोलखा, सिन्धुली, सिन्धुपाल्चोक र धादिङमा पाँच–पाँच शैय्याका वार्ड तयारी अवस्था छन् ।’

हेटौँडामा ९० शैय्याको आइसोलेसन, १० वटा आइसियू र चितवनमा ७० शय्याको आइसोलेसन कक्षको निर्माण अन्तिम चरणमा पुगेको उनले बताए । ‘हेटौँडा र भरतपुरमा एक साताभित्र आइसोलेसन र आइसियू कक्ष तयार हुनेछन्,’ उनले भने, ‘आइसोलेसन र आइसियू कक्षमा आवश्यक सबै सामग्री उपलब्ध हुने गरी तयारी भइरहेको छ ।’

प्रदेश सरकारले बाग्मती प्रदेशको राजधानी हेटौँडामा पाँच सय शैय्याको क्वारेन्टाइन बनाउने भएको छ । सामाजिक विकासमन्त्री दुलालले प्रदेशको राजधानी र जनसंख्याको चाप पनि बढी भएकाले पाँच सय शैय्याको क्वारेन्टाइन बनाउन लागिएको बताए ।

१० दिनभित्र क्वारेन्टाइन बनिसक्ने उनले दाबी गरे । हेटौँडा उपमहानगरपालिका–६ गौरीटारमा निर्माणाधीन रंगशालास्थल, हेटौँडा ११ मा रहेको हेटौँडा एकेडेमीको परिसर, कर्रा ब्यारेक र वन विज्ञान अध्ययन संस्थानको मैदानमा क्वारेन्टाइन कक्ष बनाइने उनले जानकारी दिए ।

क्वारेन्टाइनमा स्वास्थ्य उपकरण र आवश्यक सबै सामग्री राखिनेछ । सामाजिक विकास मन्त्रालयले नियुक्त गरेका एक सय २१ जना विद्यालय नर्सलाई क्वारेन्टाइनमा खटाउने मन्त्री दुलालले बताए ।

उनले क्वारेन्टाइन, आइसोलेसन र आइसियू कक्षमा काम गर्ने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिइने दाबी गरे । त्यसैगरी, प्रदेश सरकारले जनचेतना र सचेतना जगाउन हेल्थ नोटिससहित सूचना केन्द्र बनाउने तयारी गरेको छ ।(आजको नयाँ पत्रिकाबाट)