‘नेपालमा ४५० जनाको कोरोना परीक्षण, संक्रमित छैनन्’

२९ फाल्गुन २०७६, बिहीबार १६:१६

काठमाडौं , नेपालमा कुनै पनि कोरोनाका बिरामी अर्थात कुनै पनि कोरोना संक्रमित नलुकाइएको सरकारले स्पष्ट पारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले हालसम्म ४५० जनाको कोरोना परीक्षण गरिएको र कुनै पनि बिरामी नलुकाइएको बताउनु भएको हो ।

उहाँले भन्नु भयो, नेपालमा एकजनाबाहेक अरुलाई देखिएको छैन । संक्रमित देशबाट आएका मानिसलाई कोरोना नभएको सर्टिफिकेट मागिएको छ । त्यो क्षेत्रबाट आउनेहरुलाई अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्छ । अहिले हामीले कोरानाका विरामी लुकाएका छैनौं । यो भाईरस हो, लुकाउन मिल्दैन । हाल ४५० जनामा परीक्षण गरिएको छ । जसमा एकजनामा मात्र कोरोना देखिएको थियो । अहिले छजना आइसोलेसनमा भर्ना छन् । टेकुमा चारजना र दुईजना पाटन अस्पतालमा रहेका छन् ।

कोरोना हाल नेपालमा माहामारीको रुपमा नदेखिएको प्रवक्ता देवकोटाले बताउनु भयो । उहाँले काठमाडौमा १५५ वटा आइसोलेसन तयारी अवस्था रहेको र पाटन विज्ञान प्रतिष्ठान, सशस्त्र प्रहरी अस्पताल पहिले नै तयारी अवस्थामा भएको जानकारी दिनु भयो ।