के सरकार यस्तै भयानक समाचारको प्रतीक्षामा छ ?

३० फाल्गुन २०७६, शुक्रबार १०:२५

काठमाडौं, विकसित मुलुकमा समेत मन्त्री र सुपरिचित चलचित्र अभिनेता–अभिनेत्रीहरू नै कोरोना भाइरसको शिकार भइरहेका बेला नेपाल सरकारले जुन किसिमको आलस्यता देखाएको छ, त्यो हेर्दा यही चैत महिनाको मध्यतिर पुग्दा नपुग्दै ‘मन्त्रीलाई नै बचाउन सकिएन, सरुवा रोग अस्पतालमा आज एकै दिन ५० ले ज्यान गुमाए’ शीर्षकमा समाचार छाप्न बाध्य हुनुपर्ने त होइन भन्ने त्रास बढेको छ।

‘रोग लागेर पछुताउनुभन्दा रोग लाग्नै नदिनु आवश्यक छ’ भन्ने उक्ति केबल निबन्ध लेख्नका लागि मात्र बनेको होइन।

कोरोना भाइरसले नेपालभन्दा हरेक किसिमले समृद्ध र सक्षम चीन, इटली, कोरिया आदि मुलुक मात्र होइन महाशक्ति अमेरिकालाई समेत लाख प्रयासका बाबजुद नराम्रोसँग अत्याइरहेको छ, तर हामी भने केही अस्पतालमा कोरोना भाइरसका बिरामीका लागि कोठा छुट्याएर आनन्दले बसेका छौं।

कोरोना भाइरसले बेलायतका स्वास्थ्य मन्त्री कन्जरभेटिभ पार्टीकी सांसद नाडिइन डोरिसलाई बिरामी बनाएको छ भने हलिउड सुपरस्टार टम ह्याङ्कस र उहाँकी अभिनेत्री श्रीमती रिता विल्सनलाई आक्रान्त पारेको छ।

बिहीबारसम्मको विश्व तथ्यांक हेर्दा १ लाख २९ हजार कोरोना भाइरसबाट संक्रमित भएका, ४ हजार ७ सय ४९ ले मृत्युवरण गरेका र ६८ हजार निको भएर घर फर्केको देखिन्छ।

हामीकहाँ अनौपचारिकरूपमा बाहिर आएको समाचारअनुसार एक जनामा माघ दोस्रो साताको ल्याब परीक्षणमा कोरोना भाइरस ‘पोजिटिभ’ देखिएको तर माघ २३ गतेको रिपोर्टले ‘नेगेटिभ’ देखाएका कारण बिरामी स्वस्थ भएर आफ्नो काममा फर्किएको समाचारबाहेक अरू कुनै जानकारी छैन, तर आम जनतामा यसको संक्रमण भएका व्यक्तिको संख्या उल्लेख्य रहेको तर परीक्षणको उचित व्यवस्थाको अभावका कारण जानकारीमा नआएको विश्वास देखिन्छ।

यस विश्वासलाई पुष्टि गर्ने कार्य नेपालबाट १४ फागुनमा अस्ट्रेलिया गएका विद्यार्थीमा कोरोना भाइरस संक्रमण भएको घटनाले गरेको छ। कोरोना भाइरसबाट मारिने स्पेनको पहिलो मान्छे पनि नेपाल आएर फर्केको समाचार स्पेनको मिडियामा आएको थियो।

विश्व स्वास्थ्य संगठनले नेपाललाई अत्यन्त जोखिमको मुलुकको सूचीमा राखेको अवस्थामा पनि हामी सचेत भइरहेका छैनौं, यही दुर्भाग्यको विषय बनेको छ।( नेपाल समाचारपत्र)