कर तिर्न सास्ती खेप्दै सेवाग्राही

२३ फाल्गुन २०७६, शुक्रबार ११:०५

धनगढी, सुदूरपश्चिमस्थित पाँच जिल्लाका करदाता अहिले पनि कर तिर्न धनगढी आउनुपर्ने बाध्यता छ । कैलाली, डोटी, अछाम, बाजुरा र बझाङ जिल्लाका करदाता कर तिर्न धनगढी आउनुपर्ने बाध्यता अझै हट्न सकेको छैन ।

धेरै टाढादेखि आए पनि करदाताले सजिलो तरिकाले कर तिर्ने सुविधा अझै पाउन सकेका छैनन् । धनगढीमा रहेको आन्तरिक राजस्व कार्यालयमा कर तिर्न आउने प्रायः करदाताको एउटै गुनासो हुने गर्छ– देशमा जुनसुकै शासन आए पनि कर्मचारीको व्यवहारमा परिवर्तन आएन ।

करदाता मात्रै होइन, लेखापरीक्षकको अनु्भव पनि यस्तै छ । धनगढीका एक लेखापरीक्षकका अनुसार कर तिर्न जाने सेवाग्राहीको गुनासो हुन्छ– कर कार्यालयका कर्मचारीले किन हामीलाई जरिवाना तिर्न आएका अभियुक्त वा अपराधीलाई जस्तो व्यवहार गर्छन् ?

बाख्रापालनसम्बन्धी फर्मको पान नम्बर लिन कर कार्यालय आउनुभएका कैलाली गौरीगङ्गा नगरपालिका–१० का उद्धवसिंह धामीले भने, ‘कुनै कुरा सोध्यो भने कर्मचारी बोल्दैनन् । कर्मचारीले कुनै उपाय नबताएपछि बाध्य भएर आन्तरिक राजस्व कार्यालयको पर्खालबाहिर रहेका करसम्बन्धी लेखापढी गर्ने व्यक्तिको सहारा लिएर काम गरेँ ।’

आन्तरिक राजस्व कार्यालयमा कर तिर्न वा पान नम्बर लिन वा कुनै पनि कामविशेषले आउने प्रायः सेवाग्राहीको अनुभव यस्तो छ– सेवाग्राहीसँग बोल्नुपर्दा कर्मचारीहरू पैसा पर्छ झैँ गर्छन् । कैलालीको कैलारी गाउँपालिका रतनपुरका रमेश चौधरीले भने, ‘हामी करदातालाई कर्मचारीले उचित सम्मानसहित सेवा दिनुपर्ने होइन रु हामीले बुझाएको करले राज्य सञ्चालन हुन्छ, तलब सेवासुविधा पाउँछन् ।’

सेवाग्राहीको समय बर्बाद गर्न पाइँदैन
गौरीगङ्गा नगरपालिकाका लक्ष्मीराम आचार्यले आन्तरिक राजस्व कार्यालयले कर लिने तर सेवासुविधा दिन कञ्जुस्याइँ गर्ने गरेको अनुभव सुनाए । उनले भन, ‘अब कर तिर्ने व्यवस्था स्थानीय तहमै हुनुपर्छ । आन्तरिक राजस्व कार्यालय आएर घण्टौं लाइन लगाएर हामी सेवाग्राहीको समय बर्बाद गराउन पाइँदैन ।’

उनले स्थानीय तहमै कर तिर्ने व्यवस्था गर्न नसकिए भ्याट, पान, कर चुक्ताका अलगअलग डेस्क बनाएर छिटोछरितो सेवा दिने व्यवस्था गर्नुपर्ने सुझाव दिए ।

कैलालीको आन्तरिक राजस्व कार्यालयका कर्मचारीका लागि दिउँसो खाजा खाने समय एक घण्टा तोकिएको छ तर कुनै पनि दिन कम्तीमा डेढ घण्टाअघि कोही कार्यालयमा फर्कंदैनन् । ‘हामी करदाता तीन÷चार दिन खर्च गरेर यहाँ सेवा लिन आउँछौँ तर कर्मचारीले खाजा खाने नाममा घन्टौँ समय बिताउने गरेका छन्’, डोटीको जोरायल गाउँपालिकास्थित शिव सामुदायिक वन समूहका अध्यक्ष गौरीलाल छेडाल भन्छन्, ‘कर्मचारीले करदाता कति टाढाबाट सेवा लिन आएका हुन्, कति सास्ती भोगेका होलान् भन्ने कहिल्यै सोच्दैनन् ।’ छेडालले कर बुझाउन आउन तीन दिन समय लागेको बताए ।

राजस्व कार्यालयमा प्रायः पुस, चैत र असारमा सेवाग्राहीको ठूलो भीड लाग्ने गर्छ । करसम्बन्धी कुनै सेवा लिन घन्टौँ लाइन लाग्नुपर्ने बाध्यता छ । सेवाग्राहीको गुनासो छ– गर्मी र जाडोयाममा त जसोतसो लाइन लाग्छौँ तर वर्षायाममा ओत लाग्ने ठाउँ नभएकाले भिजेर लाइनमा बस्नुपर्ने बाध्यता छ ।

ठूलो भीड भएर सेवा लिन कठिनाइ हुने भएकै कारण केही सेवाग्राही सजिलो दिन रोजेर सेवा लिन आउने गरेका छन् । गोदावरी नगरपालिकाका भानसिंह ठगुन्नाले थरुहटद्वारा आह्वान गरिएको दुईदिने आमहडतालको अवसर पारेर आफूले छ महिनापछि बुधबार (फागुन २१ गते) कर चुक्ता प्रमाणपत्र लिएको बताउनुभयो । पश्चिम तराईका पाँच जिल्लामा थरुहटले मङ्गलबार र बुधबार हडताल घोषणा गरेको थियो ।(आजको गोरखापत्र दैनिकबाट)