औषधीय गुणले भरिपूर्ण जडीबुटी गुर्जोका फाइदाहरु

२७ फाल्गुन २०७६, मंगलवार १८:३५

काठमाडौँ, वनस्पतिविज्ञ तथा आयुर्वेदिक चिकित्सकले रोगसँग लड्ने प्रतिरोध क्षमता बढाउन नेपालमै पाइने जडीबुटी गुर्जोको प्रयोग गर्नुपर्ने सुझाव दिएका छन् । नेपालमा पाइने महवत्पूर्ण जडीबुटी गुर्जो हो । गाउँघरतिर गुर्जोको लहराका नामले यो चर्चित छ ।

औषधीय गुणले भरिपूर्ण यो लहरा नेपाली ग्रामीण भेगमा ज्वरो, रुघोखोकी र चिसोमा लाग्ने बाथलगायत अन्य अधिक रोगको औषधिका रूपमा प्रयोग गरिन्छ । साथै विभिन्न खालको एलर्जी, चर्मरोग, पेट रोगमा रामवाण मानिन्छ । पछिल्लो समय मधुमेह, क्यान्सरसम्मका लागि पनि यसको औषधीय गुणको महत्व रहेको आयुर्वेद चिकित्सक दाबी गर्छन्ध्र,विश्वभर कोरोना भाइरसको सन्त्रास फैलिइरहेको छ । हालसम्म खोप वा कुनै उपचार पद्धति विकास नभएकाले देशभित्रै रहेका जडीबुटीको उपयोग गर्नुपर्ने सुझाव पनि विज्ञहरूको छ ।

विश्व स्वास्थ्य सङ्गठनले २० प्रकारका खोपको परीक्षण भइरहेको जनाए पनि त्यो सर्वसुलभ हुन समय लाग्ने बताइसकेको छ । चीनमा पनि परम्परागत औषधीय पद्धतिलाई जोड्दै खोपको परीक्षण भएको सूचना प्रवाह भएको छ ।
वनस्पतिविज्ञ प्रोफेसर प्रमोदकुमार झाले भन्नुभयो, “गाउँमा बिरामी हुँदा मैले नै गुर्जोको रस खाएको छु । ज्वरो आउँदा, रुघाखोकी लाग्दा यसको झोल निकालेर खाँदा फाइदा हुन्छ” उहाँका अनुसार नेपालमा आयुर्वेदमा यसको राम्रो उपयोग छ तर आधुनिक चिकित्सामा परीक्षण भएका छैनन् ।

संस्कृतमा गुडुची वा छिन्नोद्भवा भनेर चिनिने यस वनस्पतिलाई हिन्दीमा गिलोय भनिन्छ । यसको वैज्ञानिक नाम ‘टिनोस्पोरा कर्डिफोलिया’ हो । फूल फुल्ने र फल लाग्ने श्रेणीविहीन रानुन्कुलालस गणमा यो गनिन्छ । मेनिस्परमासिया परिवार र टिनोस्पोरा वंशमा पर्ने टी कोर्डिफोलिया प्रजातिको जडीबुटी हो । (गोरखापत्र दैनिकबाट)