आजदेखि भारत र चीनसँगका सबै नाका बन्द

१० चैत्र २०७६, सोमबार १०:४४

काठमाडौं , कोरोना भाइरसको संभावित जोखिम न्यूनीकरणका लागि सरकारले आजदेखि देशका सबै सीमा नाका बन्द गर्ने भएको छ। हिजो बेलुकी बसेको मन्त्रीपरिषद बैठकले निर्णय गरेअनुसार आज विहान १० बजेदेखि भारत र चीनतर्फका सबै नाका बन्द गर्न लागिएको हो। चैत १६ गतेसम्म सबै नाका बन्द रहने अर्थ एवं संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिनु भयो ।

नाकाबाट यात्रु आवागमन रोकिए पनि सामान ढुवानी भने नरोकिने मन्त्री खतिवडाले जानकारी दिनु भयो । एक देशको संक्रमण अर्को देशमा नसरोस् भनेर छिमेकी मुलुकको समेत हितलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको मन्त्री खतिवडाको भनाई थियो । आइतबार मध्यरातबाट नेपाल आउने हवाई उडानहरू रोकिएका छन्। अत्यावश्यक सेवाबाहेक अन्य सरकारी र सार्वजनिक काम बन्द भएका छन्। नागरिकहरू सकेसम्म घर बाहिर निस्कन र भीडमा नजान सकारको अपिल छ। त्यस्तै आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सशस्त्र प्रहरी अस्पताल बलम्बु कोरना आशंकितहरूको उपचार गर्ने छुट्टै अस्पताल निर्माण गर्ने भएको छ।