हुवेई प्रान्तमा रहेका नेपालीलाई स्वदेश फर्काइँदै

१९ माघ २०७६, आईतवार १०:३३

काठमाडौं, कोरोना भाइरसले विश्व आक्रान्त बनिरहेका बेला चीनको हुवेई प्रान्तमा रहेका नेपालीलाई सरकारले नेपाल फर्काउने भएको छ । कोरोना भाइरस प्रभावित क्षेत्र हुवेई प्रान्तमा रहेका नेपाली नागरिकमध्ये संक्रमण नभएका आफ्ना नागरिकलाई मात्र सरकारले स्वदेश फिर्ता गर्न लागेको हो । संक्रमण तीव्र गतिमा फैलँदै गएपछि सरकारले यो निर्णय गरेको हो ।

चीनस्थित नेपाली राजदूतावासले शनिबार सूचना प्रकाशित गर्दै हुवेई प्रान्तमा रहेका नेपाली नागरिकलाई फिर्ता ल्याउने जनाएको छ । त्यहाँ रहेका नेपालीले आफू असुरक्षित रहेको भन्दै सरकारलाई नेपाल फर्काउन आग्रह गर्दै आएका थिए । नेपाल फर्कन इच्छुकले आज आइतबार बिहान ९ बजेसम्म फर्म भरिसक्नुपर्ने दूतावासले जनाएको छ । दूतावासले जारी गरेको सूचनामा नेपाल फर्कन चाहने नेपालीले अनिवार्य स्वास्थ्य परीक्षण गराउनुपर्ने सूचनामा उल्लेख गरिएको छ । संक्रमण भइसकेकालाई भने चीनमा नै राखेर उपचार गरिने भएको छ ।

हाल उहान प्रान्तमा १ सय ८९ जना नेपाली रहेको तथ्यांक छ । चीनको वुहान सहर क्षेत्रमा अध्ययनरत विद्यार्थीलाई फिर्ता गर्न दुईवटा जहाज तयारी अवस्थामा राखिएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले चीनमा रहेका नेपाली विद्यार्थीको ‘रेस्क्यु’ गर्न जहाज तयारी अवस्थामा रहेको बताए । उनले नेपाल एयर लाइन्स र हिमालय एयरलाइन्सका दुईवटा जहाज तयारी अवस्थामा रहेको जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार वुहानमा रहेका नेपालीलाई उद्धारपछि नेपाली सेनाको ब्यारेक, ट्रेनिङ सेन्टर वा विद्यालयमा सुरक्षित तरिकाले राख्नका लागि अन्तरमन्त्रालय र समितिहरूमा छलफल चलिरहेको छ । ‘वुहानमा रहेका नेपाली सुरक्षित छन् । नेपाल सरकारले उनीहरूलाई ल्याएपछि कहाँ राख्ने भन्ने विषय छलफलमा छ । केही समय उनीहरूलाई विशेष निगरानीमा राखेपछि मात्र घर फिर्ता गर्नुपर्ने हुन्छ,’ प्रवक्ता श्रेष्ठले भने ।

उद्धार गरिएका नेपालीहरूलाई दुई सातासम्म अब्जरभेसनमा राख्नुपर्ने इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। विवेक लालले बताए । उनले भने, ‘उहाँहरूलाई उद्धार गरेपछि सुरक्षित अवतरण गराउनुपर्छ । निरन्तर निगरानीमा राख्नुपर्छ । संक्रमण नभएको पुष्टि भएपछि मात्र समाजमा घुलमिल हुन दिइनेछ ।’

सरकारी अस्पतालहरूले समेत नेपालीहरूलाई ल्याइए आइसोलेसन वार्ड तयारी अवस्थामा राखिने बताउँदै आएका छन् । वीर अस्पतालका निर्देशक डा। केदार सेन्चुरीले छुट्टै आइसोलेसन वार्ड नभए पनि व्यवस्थापन गरिने बताए ।

तीनवटा समिति गठन

कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले तीनवटा समिति गठन गरेको छ । विश्वमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रोकथामका लागि तीनवटा समिति गठन गरेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको अध्यक्षतामा उच्चस्तरीय अनुगमन समिति, स्वास्थ्य सचिव खगराज बरालको अध्यक्षतामा निर्देशक समिति र गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा। दीपेन्द्ररमण सिंंहको अध्यक्षतामा स्वास्थ्य प्राविधिक समिति गठन भएको हो । सदस्यहरूमा सबै मन्त्रालयका सचिव तथा महाशाखा प्रमुख हुनेछन् ।

समितिमा मन्त्रालयका तीनै विभागका महानिर्देशक, सबै महाशाखाका निर्देशक, टेकु अस्पतालका निर्देशक, स्वास्थ्यअन्तर्गतका सबै परिषद्का अध्यक्षहरू पदेन सदस्य तोकिएको छ । उच्चस्तरीय अनुगमन समितिले कोरोनाको रोकथामका लागि विभिन्न निकायले गरिरहेका कामको अनुगमन गर्नेछ ।

चीनले लियो नेपाली नागरिक सुरक्षाको ग्यारेन्टी

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि चीनले नेपाली नागिरकको सुरक्षाको ग्यारेन्टी लिने जनाएको छ । नेपालस्थित चिनियाँ दूतावासले प्रेस विज्ञप्तिमार्फत वुहानसहित चीनमा रहेका सबै नेपालीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी लिने भनेको छ ।

विज्ञप्तिमा चीन सरकारले अन्तर्राष्ट्रिय दायित्व उच्च जिम्मेवारीका साथ वहन गरिरहेको उल्लेख छ । कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेको संख्या शनिबारसम्ममा २ सय ५९ पुगेको छ । कोरोना भाइरसबाट प्रभावित हुनेहरूको संख्या ११ हजार ७ सय ९१ पुगेको छ ।

चार सय भारतीयको उद्धार

भारत सरकारले वुहान राज्यमा रहेका करिब ४ सय भारतीयलाई उद्धार गरेको छ । शुक्रबार चीन पठाइएको एयर इन्डियाको बोइङ ७४७ विमानले शनिबार वुहानमा फसेका भारतीयलाई एयरलिफ्ट गरेको थियो । फ्लाइट विमानमा पाँच विशेषज्ञ चिकित्सकको टोलीसमेत थिए । उद्धार गरिएका भारतीयलाई एक सातासम्म निगरानीमा राखिने भारत सरकारले जनाएको छ ।

उनीहरूलाई राख्न हरियाणाको मानेसरमा भारतीय सेनाले ३ सय बेडको शिविर तयार गरेको छ । सुरुमा विमानस्थलमा विशेषज्ञ चिकित्सकमार्फत स्क्रिनिङ गरिने र त्यसपछि शिविरमा लगिने बताइएको छ । चिकित्सक र स्वास्थ्यकर्मीको निगरानीमा एक साता राखेर संक्रमण नभएको पुष्टि भएपछि मात्र घर पठाइने भएको छ ।(आजको राजधानी दैनिकबाट)