कागज अभावको कारण देखाउँदै जनकशिक्षा सामग्री केन्द्रले पुस्तक छाप्न सकेन्

१ फाल्गुन २०७६, बिहीबार ०९:५२

काठमाडौं, आउँदो शैक्षिक सत्र २०७७ मा कक्षा ६ देखि ८ सम्मका रङ्गीन पाठ्यपुस्तक सबै विद्यार्थीको हातमा पुर्याउने लक्ष्य असफल हुने भएको छ। कागज अभावको कारण देखाउँदै जनकशिक्षा सामग्री केन्द्रले पुस्तक छाप्न सकेको छैन।

तथ्याङ्कअनुसार कक्षा ६–८ मा अध्ययनरत विद्यार्थीका लागि १ करोड १० लाख थान पाठ्यपुस्तक आवश्यक पर्छ। तीमध्ये हालसम्म करिब २७ लाख थान मात्र पाठ्यपुस्तक छपाइ भएको छ। रङ्गीन पुस्तक छपाइ गर्न नसकेपछि जनकले आजबाट शैक्षिक सत्र शुरू हुने डोल्पा, हुम्ला, जुम्ला, मनाङ र मुस्ताङमा केही रङ्गीन र बाँकी एक रङको पुस्तक पुर्याएको छ।

जनक स्रोतका अनुसार स्टक क्लियर गर्न भन्दै फागुनबाट शैक्षिक सत्र शुरू हुने जिल्लाका अधिकांश विद्यार्थीका हातमा एक रङको पाठ्यक्रम पुर्याएको छ। जनक शिक्षाका प्रवक्ता चित्र आचार्यले कागज अभावले गर्दा पाठ्यपुस्तक छपाइ गर्न ढिलाइ भएको स्विकारे ।

उनले भने, ‘मंगलबार राती कागज आइपुगेको छ, अब थप पाठ्यपुस्तक छपाइलाई निरन्तरता दिनेछौं।’ कागज अभावका कारण विगत तीन दिनदेखि पाठ्यपुस्तक छपाइ हुनसकेको थिएन।

प्रवक्ता आचार्यका अनुसार हालसम्म कक्षा ६ र ७ का लागि १०–१० र ८ कक्षाको ७ गरी २७ लाख थान पाठ्यपुस्तक छपाइ भएको छ। कक्षा ६–८ को अझै ८० लाख थान पाठ्यपुस्तक छपाइ हुन बाँकी छ।

सरकारले चार वर्षअघि १–३ र दुई वर्षअघि ४ र ५ कक्षाका लागि रङ्गीन पुस्तक छपाइ गर्ने निर्णय गरेको थियो। यो वर्ष आगामी शैक्षिक सत्र २०७७ का लागि कक्षा ६–८ को रङ्गीन पुस्तक छपाउने निर्णय गरेको हो। (नेपाल समाचारपत्र)