
काठमाडौं, बैंकिङ क्षेत्रमा देखिएको तरलता अभाव न्यून गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रिपोमार्फत १० अर्ब रूपैयाँ बजारमा पठाउन लागेको छ । केन्द्रीय बैंकले बैंकिङ प्रणालीमा तरलता सन्तुलन राख्नकै लागि बिहीबार १० अर्ब रुपियाँ पठाएको हो । केन्द्रीय बैंकले एक हप्ता अवधिका लागि जारी गरेको रिपो आगामी बिहीबार परिपक्व हुनेछ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले अनलाइन बिडिङ प्रणालीमार्फत बिहीबार अपरान्ह ३ बजेभित्र बोलकबोलमा सहभागी भएका थिए ।
बैंक तथा वित्तीय संस्थाहरूले साढे चार प्रतिशत वा सोभन्दा बढी ब्याजदरमा आवेदन गर्न सक्नेछन् । साढे चार प्रतिशत वा सोभन्दा कम ब्याजदर कबोल गरी पेस भएका बोलपत्र रद्ध गरिने बताइएको छ । वित्त बजारमा देखिने तरलता अभाव सम्बोधन गर्नका लागि केन्द्रीय बैंकले अल्पकालीन अवधिको रिपो जारी गरेर तरलता प्रवाह गर्ने गरेको छ । यसअघि पनि गत माघ ७ गते एक साताका लागि २० अर्ब रुपैयाँको रिपो जारी गरेको थियो ।
पाँच महिनामा ३० अर्ब रुपैयाँ तरलता प्रशोचन
राष्ट्र बैंकले पाँच महिनामा खुला बजार कारोबारमार्फत कुल ३० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको छ । आर्थिक वर्ष २०७६÷७७ को पाँच महिनामा खुला बजार कारोबारमार्फत कुल ३० अर्ब रुपैयाँ तरलता प्रशोचन गरिएको हो । अघिल्लो वर्षको सोही अवधिमा एक सय अर्ब ३५ करोड रुपैयाँ तरलता प्रशोचन गरिएको थियो ।
समीक्षा अवधिमा रिपोमार्फत ३९ अर्ब ५२ करोड रूपैयाँ र स्थायी तरलता सुविधामार्फत ५० अर्ब ५५ करोड गरी कुल ९० अर्ब सात करोड रुपैयाँ तरलता प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा स्थायी तरलता सुविधामार्फत पाँच अर्ब ७२ करोड तरलता प्रवाह भएको थियो ।
समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंक) बाट अमेरिकी डलर एक अर्ब ४२ करोड खुद खरिद गरी १६१ अर्ब ९९ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर एक अर्ब १० करोड खुद खरिद गरी १२६ अर्ब ६४ करोड तरलता प्रवाह गरिएको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलर एक अर्ब ७२ करोड बिक्री गरी १९५ अर्ब ३२ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर एक अर्ब ७४ करोड र अन्य परिवत्र्य विदेशी मुद्रा बिक्री गरी २२० अर्ब १६ करोड रुपियाँ बराबरको भारतीय रुपैयाँ खरिद गरिएको थियो ।
यस्तै २०७६ असार मसान्तमा १०३८ अर्ब ९२ करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति ४.८ प्रतिशतले वृद्धि भई २०७६ मङ्सिर मसान्तमा १०८८ अर्ब ३१ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा नौ अर्ब ५० करोड रहेकोमा २०७६ मङ्सिर मसान्तमा नौ अर्ब ६३ करोड पुगेको छ ।(आजको गोरखापत्र दैनिकबाट)
