आज श्रीपञ्चमीः सरस्वतीको पूजाआराधना गरी मनाइँदै

१६ माघ २०७६, बिहीबार १०:०८

काठमाडौं ,आज विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाआराधना गरी मनाइँदैछ । हरेक वर्ष माघ शुक्लपञ्चमीका दिन श्रीपञ्चमी मनाउने गरिन्छ ।

वसन्त पञ्चमीका दिन देशभरीका सरस्वती मन्दिरमा गई देवी सरस्वतीको पूजाआराधना गरी विद्या र वुद्धिको लागि कामना गरिने प्रचलन रहीआएको छ । यस दिन सरस्वतीको पूजा गरे विद्या र बुद्धि बढ्ने विश्वास गरिन्छ ।

विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ। आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ।आजका दिनमा विवाह, नयाँ भवनमा बासलगायतका शुभकार्यका लागि साइत हेर्नु नपर्ने मान्यता छ।

विद्यार्थी बिहानै स्नान गरी आ–आफ्ना पुस्तक, कापी र कलम माता सरस्वतीको तस्वीर नजिक राखेर पूजापाठ गर्ने गर्छन् । सरस्वतीको पूजाको लागि प्रसादमा विभिन्न प्रकारका फलफूल र मिठाई पनि चढाउने गरिन्छ ।