
हेटौंडा , मकवानपुरबाट लोपोन्मुख वन्यजन्तु सालकको खपटासहित तीनजना पक्राउ परेका छन्। सोमबार साँझ हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरुमा हेटौंडा–१ का ३० वर्षीय गौरव गौतम, कृष्णबहादुर गोले र वडा नम्बर ११ का ४८ वर्षीय सूर्य लामा रहेका छन्। प्रहरीका अनुसार उनीहरुको साथबाट दुई किलो १९० ग्राम खपटा बरामद गरिएको छ । पक्राउ परेका तीनैजनालाई मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ। पक्राउ परेकाहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम मुद्दा चलाउने तयारी रहेको प्रहरीले बताएको छ।
