सभामुखमा शिवमाया नै उत्तम विकल्प

२ माघ २०७६, बिहीबार ११:१४

शिशिर सापकोटा,

दुई तिहाई बहुमतको सरकारले महिनौंको अभ्यासमा पनि सभामुख तोक्न सकेको छैन । यसलाई लाचार भन्नु कि दम्भ ! अहिले यो पनि चर्चाको विषय हो । थुप्रै विकल्पमा उत्तम विकल्पको खोजी गरेकोे नेकपाले बताएको छ । तै पनि उसले भनेको उत्तम विकल्प निर्विवाद होला भन्न सकिन्न । उत्तम विकल्पका रूपमा चर्चामा ल्याइएका सुवासचन्द्र नेम्बाङमा पनि दुई अध्यक्षबीच सहमति भएको छैन । उपसभामुख रहेकी डा शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने कुटील प्रयास पनि सफल हुन सकेको छैन । यसर्थ अहिले फेरि नेकपा आलोचित भएको छ ।


सोझो हिसाबले पुग नपुग तीन वर्षका लागि चुनिने सभामुख कस्तो हुनुपर्ने हो ? त्यसमा पनि नेकपा स्पष्ट छैन । दुई तिहाई बहुमतको सरकार चलाइरहेको पार्टीले सभामुख चयन गर्न नसकि संसदलाई अनिर्णयको बन्दी बनाउनु लाजको विषय भएको छ । यो घटनाले एमाले र माओवादी केन्द्रको एकता प्राविधिक गठजोड मात्र भएको सैद्धान्तिक र अन्तरहृदयको एकता नभएको कुरा फेरि सडकमा पोखिएको छ । अब पनि पूर्वमाओवादी र पूर्वएमालेको कित्ता छुट्टयाउनु भनेको पार्टी एकता नभई स्वार्थको घाँटी जोडिएको र अन्य अंग नजोडिन सक्छ भन्ने अर्थ अनर्थ हुँदैन ।
यतिबेला राष्ट्रपतिसहित केही महिला साँसदले शिवमायालाई नै सभामुख बनाउनु पर्ने तर्क गरेका छन् । त्यो तर्क सही भए पनि नेतृत्वको अगाडि दम नभएको देखिएको छ । अन्य कुरा जे भए पनि रोशनीकाण्ड बनाएर फँसाइएका कृष्णबहादुर महराको बहिर्गमन भएलगत्तै सभामुखमा विभिन्न नामहरू चर्चामा आएको पनि चार महिना पुग्न लागेको छ । त्यतिबेलै गर्नुपर्ने र गर्न नसकेको निर्णय अहिलेसम्म जारी रहनु नेकपाका लागि शुभ संकेत होइन । त्यसको असर संघीय संसदमा पर्न गएकोले यो मुलुककै लागि नकारात्मक र दुर्भाग्यपूर्ण कुरा हो । सत्तारुढ दलले केही साताअघि उपसभामुखमा राष्ट्रिय जनमोर्चासंग लविङ मिलाएको बुझिए पनि बीचमा राष्ट्रिय जनता पार्टीको कुरा आयो । यदि जनमोर्चासँगकै लबिङ अनुसार हुने हो भने जनमोर्चाकी दुर्गा पौडेल उपसभामुख बन्नेछिन् । शिवमायालाई सभामुख बनाउँदा महत्वपूर्ण दुवै पदमा महिला हुने र संघीय संसद कम्जोर बन्ने भयले त्रसित भएको हुनसक्ने अनुमान गर्न सकिन्छ । त्यस्तै सन्त्रास हो भने त्यो मानसिकताबाट मुक्त हुनु नेकपाका लागि लाभदायक र शिवमायाका लागि राजनीतिक न्याय हुनेछ ।
फेरि पनि सुवासचन्द्र नेम्बाङलाई सभामुखमा ल्याउनु न नेम्बाङका लागि राम्रो हो, न पार्टी र न त शिवमायाकै लागि । नेम्बाङको पालो अब कम्तिमा उपराष्ट्रपति र बढीमा राष्ट्रपति हुनु हो । त्यसका लागि उनी अयोग्य पात्र होइनन् । या त एकपटक प्रधानमन्त्री नै बनेर÷बनाएर देखाए पनि फरक पर्दैन । सधैँ सभामुखमा थन्क्याएर राख्नु उनका लागि न्यायसंगत ठहर्दैन । र यो पनि भन्न सकिन्छ कि देशकै ठूलो पार्टी मानिएको नेकपा भन्ने पार्टीमा सभामुख बन्न योग्य मान्छेको खडेरी परेछ । नेम्बाङ बाहेक अरू कोही पनि रहेनछन् भन्ने किन पार्नु १ नेम्बाङको चर्चा चल्दा यो कुरा आइसकेको हो र फेरि पनि आउँछ । नेम्बाङ स्वयंले म पटक पटक सभामुख भईसकेकाले सभामुखमा शिवमाया नै उत्तम हुने भनी दह्रो अडान राख्नु राम्रो हुन्छ ।
नेकपाका नेताहरूले जुन स्वार्थ वा सोंचले शिवमायालाई छेऊ लाएर ऐलेको उत्तम विकल्प खोजिरहेको भए पनि सतहमा देखिएको निर्विकल्प सभामुख शिवमाया नै हुन् । शिक्षा, राजनीतिक पृष्ठभूमि, उपसभामुख चलाएको अनुभव र अन्य सबै कारणले अयोग्य भन्न नमिल्ने शिवमायालाई पार्टीले योग्य ठह¥याउन नसक्नु नेतृत्वको स्वार्थ मात्र हो, राजनीतिक विश्लेषकहरू यसै भन्छन् । नेकपा तत्कालै यो निर्णयमा पुग्न सके विवाद टुंगिन्छ अन्यथा जोसुकैलाई अघि सारे पनि निर्विवाद हुन सक्ने अवस्था रहन्न । नेकपामा अझै पनि पूर्वएमाले र पूर्वमाओवादीकै भूत जगाउने हो भने यो पार्टीको एकतामा विश्वास गर्ने आधार रहन्न । कुनै पनि बेला यो गठजोड टुट्न सक्छ, फुट्न सक्छ र फेरि कार्यकर्ता निरास हुनेछन् । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलाई तह लगाउन सक्ने सभामुख खोजेको हो भने बुझ्नु पर्छ कि सौताको रिसले पोइको काखमा शु गर्ने भनेजस्तै हुनेछ । तसर्थ बढी भन्दा बढी स्वार्थप्रेरित राजनीति गर्न खोज्दा त्यसको असर समृद्ध नेपाल सुखी नेपालीको नारामा पर्नेछ र दुई तिहाईको दम्भमा नेकपा फेरि असफलताको अर्को ईंटा थप्न सफल हुनेछ ।