खाली पेटमा चिया पिउनाले स्वास्थ्यमा हुनसक्छ यी खतरा

२ माघ २०७६, बिहीबार १०:४६

सबै मानिसहरु बिहान उठ्ने बित्तिकै आफ्नो दिनको सुरुवात तातो चियाबाटै गरिरहेका हुन्छन् । मानिसहरूले धेरै जसो कालो चिया, दुधको चिया, अधुवा चिया वा ग्रिन टीको प्रयोग गरिरहेका हुन्छन् । चिया पिउनका लागि समय नचाहिने हुदा अधिकांश मानिसहरू बिहान, दिउँसो तथा साझमा समेत चिया पिउने गर्छन् ।
चिया जतिबेला पिएपनि खालि पेटमा एकदमै तातो चिया पिउनु हुँदैन । एक नयाँ रिपोर्टका अनुसार तात्तातो चिया पिउनेहरूमा क्यान्सरको जोखिम दुई गुणाले वृद्धि हुने पाइएको छ । तातो चियाले मुख पोल्नुका साथै शरीरमा हानि समेत गर्न सक्ने अमेरिकी क्यान्सर सोसाइटीका डाक्टर फरहाद इस्लामीले बताएका छन् ।

५० हजार मानिसहरूलाई समावेश गरि १० वर्षसम्म गरिएको अध्ययनपछि अनुसन्धानकर्ताहरुले कम तातो र थोरै चिया पिउनेको तुलनामा, ६० डिग्री भन्दा तातो चिया पिउन रुचाउने र प्रतिदिन ७०० एमएल अर्थात दुई ठूलो कप चिया पिउनेहरुमा एसोफेगल क्यान्सरको खतरा ९० प्रतिशतले वृद्धि हुने निस्कर्ष निकालेका छन् ।

धेरै बेर उम्लेको चियामा क्याफेनको मात्रा पनि धेरै हुने गर्छ । चियामा भएको टेनिनले शरीरमा भएको आइरनसँग रियाक्ट गरेर शरीरमा भएको पोषण तत्वलाई नष्ट गर्छ । खाली पेटमा तातो चियाले पेटमा उत्पादन हुने पाचन रसलाई बढी नराम्रो असर पुग्ने हुदा पेटमा एसिडिटीको तथा ग्यास्ट्रिकको समस्या आउन सक्छ ।

एक दुइ दिन तातो चिया पिउदा भने त्यति ठुलो असर देखा पर्दैन । तर, लगातार खाली पेटमा तातो चियाको सेवनले भोक हराएर शरीरमा थकान महसुस गराउछ । भोक कम लाग्दा शरीरले चाहिए जति पोषण नपाउने हुदा पेटको जलन, उल्टी हुने, ग्यास्ट्रिक, अमिलो पानी आउने जस्ता समस्याहरु निम्तिन्छ ।

खाली पेट तातो चिया पिउँदा पाचन प्रणालीमा असर पुर्‍याउने, अल्सरको समस्या, मानिसमा फुड पाइप या घाँटीको क्यान्सरको सम्भावना पनि बढ्दै जान्छ । तातो पेय पदार्थहरु पिउने गर्दा केहि बेर सेलाउन दिएर मात्र पिउन चिकित्सकहरूले पनि सुझाव दिदै आएका छन् । क्यानडा नेपालबाट