
काठमाण्डौ , नेपाली बजारमा सुनको भाउ बढेको छ ।गएका चार दिनमा सुनको भाउ तोलामा झण्डै २ हजार रुपैयाँ बढेपछि कारोबार ठप्प जस्तै भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो ।
सुनको भाउ सोमबार तोलाको ७६ हजार रुपैयाँ पुगेको छ । केही दिनदेखि लगातार बढिरहेको सुनको भाउ सोमबार तोलामा ५ सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो भएको हो । सुन आइतबार तोलामा १ हजार रुपैयाँ बढेको थियो । सुन महँगो भएसँगै कारोबार भने घटेको व्यवसायीले बताएका छन् ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढिरहेको र अझै बढ्ने अनुमान गरिएकाले नेपालमा पनि भाउ अझै बढ्ने सम्भावना भएको उहाँले बताउनु भयो । अमेरिका र इरानबीचको तनाव, डलर बलियो तथा भारतीय रुपैयाँ कमजोर भएकाले पनि नेपालमा सुनको भाउ बढेको शाक्यको भनाइ छ ।
