
काठमाडौं , मर्निङ वाक गर्ने क्रममा सडकमा बिहानै कुद्दै हुनुहुन्छ ? ख्याल गर्नुहोस् तपाईंको व्यायाम गर्ने शैलीले शरीरलाई हानि गर्न पनि सक्छ। वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मी जाडो मौसममा बिहानै मर्निङ वाकमा ननिस्कन सुझाव दिन्छन्।
उनका अनुसार चिसो मौसममा वायुमण्डलको बाहिरी भागमा हानिकारक धुलोका कण रहेका हुन्छन्। मर्निङ वाक गर्दा धुलोका कण, भाइरस, ब्याक्टेरियालगायत तत्त्व श्वासनली हुँदै संक्रमण हुने जोखिम रहन्छ। डा रेग्मीको सुझाव छ, ‘घाम झुल्केपछि मात्र मर्निङ वाकमा निस्कनुस्।’
काठमाडौंको वायुमण्डल प्रदूषित छ। यसमा हानिकारक कणका साथै चिसोले गर्दा श्वासप्रश्वास, निमोनिया हुने जोखिम रहन्छ। त्रिवि शिक्षण अस्पतालका फिजिसियन डा निरज बमका अनुसार बिहानै मर्निङ वाकमा निस्कँदा स्वास्थ्यमा समस्या आउन सक्छ। चिसोकै कारण रुघाखोकी, दमलगायत समस्या बल्झिन सक्छन्।
शरीरलाई चुस्त र स्वस्थ राख्न घरबाहिर मर्निङ वाक वा व्यायाम गर्दै हुनुहुन्छ भने घाम झुल्केपछि मात्र गर्न चिकित्सकहरूको सुझाव छ। ‘धुवाँधुलोले गर्दा वायुमण्डल दूषित भएको हुन्छ। बिहानै मर्निङ वाकमा निस्कँदा छातीजन्य समस्याका साथै निमोनिया, भाइरल संक्रमण तथा श्वासप्रश्वाससम्बन्धी समस्याले सताउन सक्छ’, डा बमले भने।(अन्नपूर्णबाट)
