खुला दिसामुक्त वडामा शौचालय छैन

१६ पुष २०७६, बुधबार ०९:३४

सप्तरी, करिब दुई वर्षअघि नै खुला दिसामुक्त घोषणा भइरहेको सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरस्थित सिङ्गो दलित मुसहर बस्ती अझै शौचालयविहीन छ ।

दलित समुदायको बाक्लै बसोबास रहेको उक्त बस्तीमा एउटा पनि शौचालय छैन । करिब २७ घरधुरीमा १०० जनाको बसोबास रहेको उक्त बस्तीमा शौचालय नहुँदा स्थानीय बस्ती नजिकैको खोलाको खोल्साखोल्सी र बाँसघारीमा गएर खुलारूपमा दिसापिसाब गर्दै आएका छन् ।

शम्भुनाथ नगरपालिकाको सबै वडाको घर घरमा शौचालय बनिसकेको भन्दै २०७५ सालमै सो वडालाई खुल्ला दिसामुक्त घोषणा गरिएको थियो तर त्यही वडाको सिङ्गो दलित बस्तीमा अझै शौचालय बन्न सकेको छैन । उक्त बस्ती नजिकै रहेको चौधरी, साहलगायत जातिको बस्तीमा शौचालय बनिसके पनि छेउमै रहेको मुसहर जातिको बसोबास रहेको दलित बस्ती भन्ने शौचालयविहीन रहेको स्थानीय सञ्जय चौधरीले बताए ।

उनले आफूले शौचालय निर्माणको लागि पटक पटक आग्रह गर्दा पनि कसैले त्यसप्रति चासो नदेखाएको बताए । आर्थिक आभावभन्दा पनि सरकारले नै शौचालय बनाई दिन्छ कि भन्ने सोचका कारण त्यहाँका स्थानीयवासी शौचालय बनाउन नचाहेको गुनासो सुनाउँदै उनले भने, ‘यस बस्तीका अधिकांश युवा मजदूरी गर्छन्, कतिपय युवा छिमेकी भारतको विभिन्न शहरमा रोजगारी गर्ने गरेका छन्, तर शौचालय बनाउन चाहँदैन ।’

घरमा शौचालय निर्माण गर्न खर्च किन गर्ने ? भन्ने सोचले त्यस बस्तीमा बढी प्रभाव पारेको छ, शम्भुनाथ नगरपालिका–५ का वडाध्यक्ष हीरणप्रसाद चौधरीले भने, ‘त्यसैले त्यस बस्तीका बासिन्दाको सोच परिवर्तन गर्न र शौचालय बनाउन उहाँहरुलाई दबाबमूलक कार्यक्रम गर्ने तयारी गरिरहेका छौँ ।’ (नेपाल समाचारपत्र)