हिमपातले एक महिनादेखि सडक अवरुद्ध

१५ माघ २०७६, बुधबार ११:२१

मुगु, तीन पटक परेको भारी हिमपातका कारण नाग्म–गमगढी सडक खण्ड एक महिनादेखि बन्द हुँदा सर्वसाधरणले शान्ति भोग्नु परेको छ। मसिंर २८ र पुस १७ गते परेको भारी हिमपातका कारण परेको बाक्लो हिमपातले सदरमुकाम गमगढी जोड्ने नाग्म(गमगढी सडक खण्ड अन्तर्गत जुम्ला र मुगुको सिमानमा पर्ने घुच्चिलेखमा हिमपातले अवरुद्ध भएको हो।

हिमपातले नाग्म–गमगढी सडक खण्ड अन्तर्गत जुम्ला जिल्लाको भुलबुले र मुगुको घुच्ची, सातमोड–झाड नाउलामा ४ फिटसम्म हिउँ जमेपछि नाग्म(गमगढी सडक खण्ड ती स्थानमा सडक डिभिजन जुम्लाले समयमै हिउँ नपन्छाउँदा सर्वसाधरणले शास्ति भोग्नु परेको उधोग वाणिज्य संघ मुगुका महासचिव नृपेन्द्रबहादुर मल्लले बताए।

पहिलो पटक गत मंसिर २८ गते परेको हिमपातले नाग्म(गमगढी सडक अवरुद्ध भएको थियो। जमेको हिउँ एकसातापछि डोजर लगाई खुलाइएको भएपनि पुनः पुस १७ गते परेको हिउँले सडक बन्द भएको सडक डिभिजन कार्यलय जुम्लाका प्रमुख लिलाबहादुर भण्डारीले बताए।

सडक डिभिजन कार्यालयले सडक खुलाउने प्रयास जारी राखेको छ। ‘पाँच दिनदेखि हिउँ पन्छाउन डोजर प्रयोग गरिरहेका छौं, बाक्लो हिउँ भएका कारण समय पन्छाउन समस्या भएको छ’ प्रमुख भण्डारीले भने।

मौसममा सुधार आएमामा हिउँ पन्छाएर साताभित्र सडक सञ्चालनमा आउने भण्डारीले जानकारी दिए। यो सडक ०६९ साल पुस १ गते मुगु सडक सञ्जालमा जोडिएको भएपनि हालसम्म सडकको स्तरोन्नती नहुँदा यो सडक खण्ड वर्षको ४ महिनामात्र सवारी साधन चल्ने गरेका छन्।

सडकमा ग्राभेल पानीका नाला, कल्भड व्यस्थित नहुदा हिउँदमा हिउले र वर्षामा पानीका कारण सडक बन्द हुने गरेको छ। वर्षको ८ महिनासम्म सडक बन्द हुदाँ व्यवसायीहरु समस्यामा पर्ने गरेका छन्। उपभोक्ताले खोजेको सामान बजारमा पाउन मुस्किल छ।

सडक बन्द हुँदा स्थानीय तहका विकास निमार्णका काम पनि प्रभावित भएका छन्। पुल, बिजुलीका सामान ढुवानीमा समस्या भएको र काम अधुरै रहेको खात्याड गाँउपालिका–२ का वडा अध्यक्ष लालबहादुर रावल बताउँछन्। (आजको अन्नपूर्ण पोष्टबाट)