सरकारी अस्पतालमा शैया पाउनै मुस्किल, बाध्यताले निजीमा जान्छन् बिरामी

२५ पुष २०७६, शुक्रबार ११:१८

काठमाडौं, सरकारी अस्पतालमा पर्याप्त शैया नहुँदा भर्ना हुनुपर्ने कतिपय बिरामी निजी अस्पतालमा जान बाध्य हुने गरेको पाइएको छ । कतिपय अस्पतालमा शैया अभाव हुँदा बिरामीहरु मर्कामा परेका छन् ।

मुख्यतः र्आइसीयूमा शैयाको अभाव खड्किने गरेको छ । अस्पतालहरुले समेत बिरामीमैत्री वातावरण सिर्जना नगर्दा बिरामीहरु अलमलमा पर्दै निजी अस्पतालमा धाउन बाध्य हुने गरेको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार देशभर दुई सय २१ अस्पताल र १६ केन्द्रीय अस्पताल छन् । अहिले देशभरका सरकारी अस्पतालको शैयाको संख्या ६ हजार बढी रहेको छ ।

अस्पतालहरुले आफूले प्रदान गर्ने सेवाको शुल्कसम्बन्धी मापदण्ड निर्धारण गरेका छैनन् भने केन्द्रीय अस्पतालले शैया शुल्क समेत लिने गरेको पाइएको छ । केही अस्पतालमा शैया पाउन सोर्स समेत लगाउनुपर्ने बाध्यता छ । एक अस्पतालका अधिकारीले भने, ‘मलाई शैया चाहियो भनेर सोर्स लगाए । तर, हामीले त्यसो गर्न मानेनौं ।’

सरकारी अस्पतालले आईसीयूको शुल्क प्रतिदिन १ हजारदेखि ३ हजार रुपैयाँसम्म लिँदै आएका छन् । यस्तै निजी अस्पतालले ८ हजार ५ सय देखि २१ हजारसम्म लिने गरेको देखिन्छ । अस्पतालहरुले प्रदान गर्ने सेवाको सुविधा र शुल्कसम्बन्धी मापदण्ड निर्धारण नहुँदा हचुवाको भरमा बिरामीले शुल्क तिर्नसपर्ने बाध्यता छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा विकास देवकोटाले मुख्यतः आईसीयूमा समस्या रहको बताए । उनले भने, ‘जिल्लाका साविक अस्पतालको स्तरोन्नत्ति गर्ने काम भइरहेको छ । आईसीयूमा समस्या देखिएको यथार्थ हो ।’

देशकै सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालमा दैनिक दुई हजारदेखि दुई हजार आठ सय बिरामी आउने गरेका छन् । जसमा चार सय ६० वटा बेड रहेका छन् ।

यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सात सय ४ वटा शैया रहेकोमा दैनिक औसत एक हजार तीन सय बिरामी आउने गरेका छन् ।

अस्पतालका कार्यकारी निर्देशक डा प्रेमकृष्ण खड्काले भने, ‘चिसो मौसम भएकाले बिरामीको फ्लो कम छ । अन्य समयमा दैनिक एक हजार पाँच सय देखि २ हजार दुई सयसम्म बिरामी आउँछन् र कतिपय बिरामी शैया अभाव भएपछि अन्यत्र जान बाध्य हुन्छन् ।’

यस्तै शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा दैनिक सात सय बिरामी आउने गरेका छन् । केन्द्रका निर्देशक डा। चन्द्रमणि अधिकारीका अनुसार अस्पतालमा दुई सय ३९ शैया रहेको छ । यस्तै इमरजेन्सी कक्षमा ३२ शैया रहेको छ ।

कान्ति बाल अस्पतालमा तीन सय २५ शैया रहेको छ । जाडो मौसममा सो अस्पतालमा दैनिक औसत तीन सय जना उपचारका लागि आउने गरेका छन् । जसमा ८० देखि एक सय २० जना बिरामी इमरजेन्सी कक्षमा आउँछन् । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।