पूर्वमा पनि पेट्रोलियम पाइपलाइन

२ माघ २०७६, बिहीबार १०:११

काठमाडौं, पूर्वी नेपालमा पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न पश्चिम बङ्गालको सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन बिछ्याउन नेपालले भारतसमक्ष प्रस्ताव गरेको छ ।

भारतको नयाँदिल्लीमा बसेको नेपाल–भारत पेट्रोलियम तथा ग्यास ‘जोइन्ट वर्किङ ग्रुप’को बैठकमा नेपालले भारतसमक्ष सो प्रस्ताव गरेको हो । बैठक पुस २७ र २८ गते बसेको थियो । नेपाल–भारत पेट्रोलियम तथा ग्यास जोइन्ट वर्किङ ग्रुपको यो पहिलो बैठक हो । बैठकमा नेपालले गरेको सो प्रस्तावमा भारतीय पक्ष सकारात्मक रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

नेपाली पक्षको नेतृत्व गर्नुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव धु्रव घिमिरेले पूर्वी नेपालमा पेट्रोलियम पदार्थको सहज आपूर्ति तथा भण्डारणका लागि भारतको सिलिगुडीदेखि नेपालको झापासम्म दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन बिछ्याउन नेपालले राखेको प्रस्तावमा भारतीय पक्ष सकारात्मक रहेको जानकारी दिए ।

प्रस्तावित पाइपलाइनबारे सम्भाव्यता अध्ययन गर्न भारतीय पक्ष सकारात्मक देखिएको छ । सहसचिव घिमिरेले बैठकमा पाइपलाइन बिछ्याउनेबारे नेपालले गरेको प्रस्तावमा आवश्यक छलफल गरी चाँडै नै जवाफ दिने प्रतिबद्धता भारतीय पक्षले गरेको बताए । उनले भने, ‘प्रस्तावित यस पाइपलाइन बिछ्याउनेबारे सम्भाव्यता अध्ययन गर्न नेपाल आयल निगमले भारतीय आयल निगमसमक्ष लिखित प्रस्ताव पेस गर्ने छ । भारतीय आयल निगमले सो प्रस्तावको अध्ययन तथा मूल्याङ्कन गरेपछि अध्ययन कार्य अगाडि बढाउने छ ।’

दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइनका रूपमा रहेको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको पाँच महिनापछि दोस्रो अन्तरदेशीय पाइपलाइन बिछ्याउन नेपालले भारतसमक्ष सो प्रस्ताव गरेको छ । नेपाल र भारतका प्रधानमन्त्रीले भदौ २४ गते संयुक्त रूपमा उद्घाटन गरेपछि मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको हो ।

डीपीआरका लागि समझदारी

त्यसैगरी मोतिहारी–अमलेखगन्ज पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्न विस्तृत प्राविधिक अध्ययन तयार गर्न नेपाल र भारतका प्राविधिकहरू सम्मिलित संयुक्त टोली गठन गर्ने समझदारी भएको जानकारी सहसचिव घिमिरेले दिए । उनका अनुसार अध्ययन टोलीले प्रतिवेदन तयार गरी नेपाल–भारत पेट्रोलियम तथा ग्यास जोइन्ट वर्किङ ग्रुपमा पेस गर्ने छ । मोतिहारी–अमलेखगन्ज अन्तरदेशीय पेट्रोलियम पाइपलाइनलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने समझदारी भएको छ ।

त्यसैगरी अमलेखगन्ज डिपोको स्तरोन्नतिको कार्य सम्पन्न गर्न, झापाको चारआली र धनुषाको महेन्द्रनगरमा प्रस्तावित नेपाल आयल निगमको ग्यास बोटलिङ, रिफिलिङ तथा ग्यास भण्डारण गृह निर्माणमा भारतीय आयल निगमले प्राविधिक सहयोग उपलब्ध गराउने विषयमा समेत दुई पक्षबीच समझदारी भएको छ ।

पेट्रोलियम पदार्थको निर्विवाद तथा नियमित आपूर्ति, नेपालमा पेट्रोलियम पूर्वाधारको विकास तथा नेपालमा पेट्रोलियम पदार्थको भण्डारण केन्द्र निर्माणमा सहयोग आदानप्रदान गर्ने विषयमा दुई मुलुकबीच समझदारी भएको जानकारीसमेत सहसचिव घिमिरेले दिए । नेपालमा पेट्रोलियम तालिम केन्द्र स्थापना गर्ने, तालिम केन्द्र निर्माणका लागि जग्गा छनोट गरी त्यसबारे भारतीय आयल निगमलाई जानकारी गराउने विषयमा समेत दुई पक्षबीच समझदारी भएको उनले बताए ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव घिमिरेको नेतृत्वमा नेपालको तर्फबाट अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल आयल निगम र नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका प्रतिनिधिसहित नेपाल आयल निगमका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रकुमार पौडेल, निगमका नायब कार्यकारी अधिकृत सुशील भट्टराईलगायत नौ जनाको सहभागिता थियो ।(आजको गोरखापत्र दैनिकबाट)